झापा, कात्तिक १ । विद्यार्थीहरुको पढाई बिग्रिने गरी झापाको बिर्तामोड नगरपालिकाले एक महिनाभन्दा बढी लामो दशै विदा दिएको छ ।

असोज १७ गते घटस्थापनाका दिनदेखि छठ पर्व सकिएको दुई दिनपछि कात्तिक २५ गते विद्यालय लगाउने गरी नगरपालिकाले ३७ दिन लामो विदा दिएको हो । जसबाट विद्यार्थीहरुको पढाई बिग्रिने भएको छ भने शिक्षकहरुले सबै चाडबाड आनन्दले मनाउन पाउने भएका छन् । हिउँदे र बर्खे विदा कट्टा गरेर एक महिने दशै विदा दिइएको बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले बताए । उनले प्याव्सन , एन प्याव्सन, शिक्षक महासंघलगायतका संघ संगठनको सल्लाह अनुसार नै सो विदा पारित गरिएको जानकारी दिए । लामो समयसम्मको विदा दिँदा पढाई बिग्रिने भएकाले नचाहदा नचाहदै विदा दिनु परेको नगरपालिकाका एक अधिकृतले बताए ।

विद्यालयहरुले आ–आफ्नो शैक्षिक क्यालेन्डरमा एक महिने विदा उल्लेख गरेका थिएनन् । शैक्षिक क्यालेन्डरमा उल्लेख नगरिएको विदा दिन नमिल्ने भन्दै बिर्तामोडका केही संस्थागत विद्यालयहरुले नगरपालिकाको त्यस निर्णयलाई नमान्ने भएका छन् । बिर्तामोडका लिटल फ्लावर्स , बाल्मीकि ,तक्षशीला, कंचनजंघा , कंचनलगायतका संस्थागत विद्यालयहरुले दशैपछि पठनपाठन शुरु गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्