झापा, कात्तिक १ । फेसबुके साथी भेट्न सिन्धुपाल्चोकबाट तेह्रथुम आएका एक जना प्रधानाध्यापक साथीकै घरमा ढलेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती ५ बाँडेगाउँस्थित नमोबुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक अन्दाजी ५२ वर्षीय अच्युतम कोइराला आफ्नो फेसबुके साथी भेट्न तेह्रथुम आएका थिए । तेह्रथुम फेदाप– ३ जलजले बस्ने ५१ वर्षीया भिमादेवी रिमालसंग उनको १० महिनादेखि सामाजिक सञ्जालमा चिनजान भएको थियो । भिमादेवीलाई भेट्न प्रधानाध्यापक कोइराला असोज २९ गते दिउँसो २.३० बजे काठमाण्डौबाट हिडेका थिए भने उनी ३० गते दिउँसो २ः१५ बजे ती महिलाको घरमा आइपुगेका थिए । महिलाको घरमा आइपुगी खाजा खाएर उनी भिमादेवीसंग घुम्न गएका थिए । बेलुका भिमादेवीको घरमा खाना खाएर गफ गर्दैगर्दा प्रधानाध्यापक कोइराला अचानक ढलेका थिए ।
सामान्य बान्ता गरेका उनलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याई चेकजाँच गराउँदा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनको शव सोही अस्पतालमा रहेको छ ।