झापा,कात्तिक ५ । झापा बाह्रदशी– ५ फूलवारीका २२ वर्षीय राजेश हजामको हत्याकाण्डलाई खोतल्ने हो भने चलचित्रको कथाभन्दा कम रोचक छैन । विद्यालय पढ्दै गरेकी २० वर्षीया मुना मेचेलाई स्कुल बसका चालक र सहचालक दुवैले मन पराएपछि त्यहाँबाट उनीहरुको क्राइम स्टोरी शुरु भएको देखिन्छ ।

बाह्रदशी– ५ घोडामारा माइत भएकी मुना बाह्रदशीको कंचनज्योति अंग्रेजी विद्यालय पढ्थिन् । त्यस स्कुल बसका चालक (हाल मुनाका श्रीमान् ) अन भन्ने अशोक राजवंशी थिए भने मारिने राजेश हजाम थिए सहचालक । स्कुल बसमा चढेर विद्यालय आउजाउ गर्ने मुना कक्षा ७ मा पढ्दाखेरी नै अशोक र राजेश दुवैले मन पराएका थिए । हेर्दा राम्री र मानिससंग छिट्टै नजिकिने स्वभाव मुनाको थियो । दुवैले मन पराएपनि आखिर अशोकले बाजी मारे । कक्षा ९ मा पुगेकी मुनालाई उनले पट्याएर प्रेम विवाह गरे भने राजेश फाक्का परे । तर, राजेशसंग बोलचाल भइनै रह्यो ।

अशोक आफ्नो परिवारको लागि मरिमेट्दै गए । उनले मुना र आफ्ना पाँच वर्षका छोराको लागि बाह्रदशी– ६ सिमलवारीमा जग्गा किनेर घर बनाइदिए अनि आफू कमाउन साउदी अरब लागे । पाँच वर्षका नाबालक छोरासंग मुनालाई एकान्त घरमा बस्न गाह्रो हुन्छ भनेर उनका कान्छा देवर २० वर्षीय गुड्डु अर्थात गणेश भनिने राहुल राजवंशी रुँग्न आउन गर्थे । जम्मा आठजना दाजुभाइमध्ये मुनाका श्रीमान् अशोक काइला हुन् भने गणेश सबैभन्दा कान्छो । घर रुँग्न आउने गरेका गणेशले भाउजुको मोबाइल चलाउने क्रममा राजेशसंग म्यासेन्जरमा कुराकानी भइरहेको थाहा पाए । उनले आफू मुना बनेर कुराकानी गर्न थाले । त्यसक्रममा उनीहरुबीचको सबै कुरा थाहा पाएछन् । उनले सप्रमाण देखाएर सोधपुछ गरेपछि मुना वास्तविकता बताउन बाध्य भइन् ।

‘त्यहाँबाट इगो शुरुवात भएको देखिन्छ’ अनुसन्धानको नेतृत्व गरेका इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले भने । विष्टका अनुसार इगो साँध्न राजेशका साथीसमेत रहेका गणेशले जेठ १५ गते राति करिव ११.३० बजेतिर मेसेन्जरमा कल गरी उनलाई बोलाएका रहेछन् । कल आएपछि उनी करिव ३ किलोमिटर टाढा मुनाको घर आएका थिए । ‘राति ११ बजेतिर कल आएर राजेश घरबाट गएको उनका परिवारका सदस्यहरुले बताएका छन्’ विष्टले भने,‘त्यो कल गणेशकै हुनुपर्छ ।’
सोही दिनदेखि राजेश गायब भए । त्यसको तीन दिनपछि राजेशका परिवारले आफ्ना छोरा वेपत्ता भएको भनी इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए । हुलियासहित निवेदन परेपछि सोही दिनदेखि बिर्तामोड प्रहरीले खोजी शुरु गरेको थियो । ‘हामीले करिव एक महिनासम्म राजेशको खोजी गर्यौ ’ डीएसपी विष्टले भने, ‘ तर कुनै पनि क्लु फेला परेन ।’ त्यसबेला बिर्तामोड प्रहरीका डीएसपी विष्ट र तत्कालीन प्रहरी निरीक्षक रमेश राईसहितको टोली खोजीमा लागेको थियो ।

जब छिमेकी आशिष थापाका बुबाले मादक पदार्थ सेवन गरेका बेला राजेशलाई मारेको कुरा खुस्काए ,त्यसपछि मात्र राजेश आफै बेपत्ता नभई बेपत्ता बनाएको प्रहरीले आशंका गर्यो । त्यसपछि गहन अनुसन्धान थालेको प्रहरीले सबैभन्दा पहिला मुनाका भतिज १६ वर्षीय नरेश राजवंशीसंग सम्पर्क गरेको डीएसपी विष्टले बताए । नरेशले आफ्ना काका समीर राजवंशीको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीमाथि पनि अनुसन्धान थाल्यो । हत्याकाण्डकी मुख्य पात्र मुनालाई प्रहरीले केरकार गर्दा शुरुमा इन्कार गरेकी उनले पछि सबै कुरा बताएपछि राजेशको हत्या नै भएको हो भन्ने निष्कर्षमा पुगेपनि प्रहरीलाई प्रमाण हात लागेको थिएन । आरोपितहरुको बयानका आधारमा प्रहरीले मुनाको घर उत्खनन् गर्न थाल्यो । त्यसक्रममा राजेशको गन्जी , डोरी , सलको टुक्रा र दाउ फेला परेपछि प्रहरी उत्साहित बन्यो । तर, दुईदिनसम्म मुनाको घर आँगन खन्दासमेत राजेशको शव भेटिएन ।

‘पहिलो दिन हामीले घरमा मेनुअली खन्न लगायौ ’ डीएसपी विष्टले भने ,‘शव नभेटेपछि भोलिपल्ट जेसीबी लगाएर आँगन खनायौं ।’ आरोपितहरुले आफूहरुले किचनमा गाढेको भनेकोमा किचन खन्दा शव नभेटिएपछि फ्रेस माटो भएको आँगनमा खनेको डीएसपी विष्टले बताए । घरबाट शव उत्खनन् गरी बिरिङको बगरमा गाढेको सुइको पाएपछि प्रहरी टोलीले बिरिङको बगर खन्न थाल्यो । काँसघारी भएको बिरिङको बगर खन्दासमेत प्रहरीले प्रोपर स्पोर्ट लोकेसन थाहा पाउन सकिरहेको थिएन । ‘ हामीलाई बिरिङकै बगरमा गाढेको यकिन भएपनि शव नमिल्दा हिउँदमा गाढेको शव बर्खाको भेलले बगायो कि भन्ने शंका पनि लाग्यो ’ डीएसपी विष्टले भने । जब चौथो दिन आरोपितहरु समीर र मुनालाई दुबई भागेका गणेशसंग फोनमा कुराकानी गर्न लगाएर शव गाढेको ठाउँबारे यकिन गर्न लगाएपछि प्रहरीलाई सफलता मिलेको थियो । हत्या भएपछि करिव ४ महिनापछि गत असोज २० गते साँझ राजेशको कंकाल भेटिएको हो ।

घटना यसरी भयो
जेठ १५ गते राति गणेशले राजेशलाई बोलाएपछि आफ्नो घरमा चोर आयो भनेर उनले आफ्ना दाजु समीर र भतिज नरेशलाई समेत बोलाएका थिए । पहिला उनीहरुले राजेशलाई कुटपिट गरे । त्यसपछि सलले राजेशलाई हातखुट्टा बाँधेर चक्कु प्रहार गरी मारेको उनीहरुको बयान रहेको प्रहरीले बताएको छ । हत्यापछि उनीहरुले राजेशको शव रातभरि पलङको मुनि राखेका थिए । समीर , गणेश र नरेश आ–आफ्नो घर गएपछि त्यो रात मुनाले अर्को कोठामा सुतेर एक्लै कटाएकी थिइन् । भोलिपल्ट दिनभरि पलङमुनि नै रहेको शवलाई उनीहरुले अर्को रात किचन कोठामा गाढेका थिए । अरु कोठा ढलाई भएपनि किचन कोठा ढलाई गरिएको थिएन । पछि शव त्यहाँबाट निकालेपछि भने उनीहरुले किचन पनि ढलाई गरेका थिए । एकदिन त्यही किचनमा गाढिएको शवलाई अर्को रात उनीहरुले खनेर बिरिङको बगर लगेका थिए । मुनाका श्रीमान अशोकले विदेशबाट ल्याएर राखेकोे सुटकेशमा हालेर शवलाई मोटरसाइकलमा समीर र गणेशले बिरिङको बगरमा लगेर गाढेका थिए ।

ती दुवैले मिलेर शव गाढेका कारण स्पोर्ट लोकेसन आइडेन्टीफाई गर्नका लागि विदेशमा रहेका गणेशसंग समीरलाई फोनमा कुराकानी गर्न लगाउनु परेको डीएसपी विष्टले जानकारी दिए । मुना र राजेशबीचको चक्करका बारेमा आक्रोशित भएका देवर गणेशसंग पनि मुनाको अनैतिक सम्बन्ध रहेको आशंका गरिएको छ । समान उमेरका र एउटै घरमा बस्दै आएका दुवैबीच सम्बन्ध भएर नै राजेशसंगको सम्बन्ध थाहा पाएर गणेश यति धेरै आक्रोशित बन्न पुगेको र घटना घटाउन बल पुगेको अनुमान गरिएको छ ।

लगातार ६ दिनसम्म रातदिन नभनी आफूहरुले घटनालाई निष्कर्षमा पुर्याएरै छोडेको डीएसपी विष्टले बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्वमा गरिएको अनुसन्धानमा मातहतका इलाका प्रहरी कार्यालय घैलाडुब्बा र प्रहरी चौकी फूलवारीले सहयोग गरेका थिए । बिर्तामोड प्रहरीको नेतृत्व सम्हालेपछि डीएसपी विष्टले योसहित चारवटा हत्याका आरोपितहरुलाई पक्राउ गरिसकेका छन् । त्यस्तै अर्जुनधारामा भएको सामूहिक बलात्कारका आरोपित र भागेका थुनुवालाई पुनः पक्राउ गरी कानुनी कार्वाही चलाएका छन् । ‘बाह्रदशीको हत्याकाण्ड अलिक जटिल प्रकृतिको भएपनि हामीले किनारा लगाएरै छोड्यौ’ डीएसपी विष्टले भने । डीएसपी विष्टको कार्यकालमा कुनै पनि जघन्य घटना पेन्डिङमा नरहेको बुझिएको छ ।

अनुसन्धानलाई सफल बनाउन सानोभन्दा सानो क्लु पनि महत्वपूर्ण हुने भएकाले यो घटनामा प्राप्त भएको सानो क्लुलाई निरन्तर पछ्याउँदै अनुसन्धान गर्दै जाँदा सफलता मिलेको र यसमा संलग्न अनुसन्धान टोलीका सम्पूर्ण सदस्यहरुले आफ्नो ज्ञान विवेक लगाउँदै खटिएर दिन रात काम गरेका कारण यो सफलताको जस सिङ्गो अनुसन्धान टोलीलाई नै दिनुपर्ने डीएसपी विष्ट बताउँछन् ।

प्रहरीले राजेशको हत्यामा संलग्न मुना , उनका देवर समीर र भतिज नरेशलाई पक्राउ गरी कार्वाही अघि बढाएको छ भने दुबई भागेका गणेशलाई झिकाउन उनको पासपोर्टलगायतका कागजात संकलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्