झापा, कात्तिक १० । सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर झापामा थप एक जनाको मृत्यु भएको छ ।


भद्रपुरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ५ देवीबस्ती निवासी ३६ वर्षीय शम्भु सहनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सहनी शुक्रबार दिउँसो १ बजेको समयमा आफ्नै घरमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते सहनीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल लगिएको र उनको गएराति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि गत असोज ८ गते दमकमा करेन्ट लागेर एकजनाको मृत्यु भएको थियो । इलाम महमाई स्थायी ठेगाना भई दमक नगरपालिका वडा न. ८ डेरा गरी बस्ने अन्दाजी २६ वर्षीय कमल बुर्जामगरको आफ्नै सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

त्यस्तै गत असोज १३ गते सिटी सफारी चार्ज गर्दा करेन्ट लागेर सुनसरीमा एकजनाको मृत्यु भएको थियो ।
बराहक्षेत्र नगरपलिका–४ बराहक्षेत्रमा आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा ५५ बर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्