झापा, कात्तिक १२ । भारतबाट परिचालित भएको आरोप लागेका दुर्गा प्रसाईले आफ्नो कार्यक्रममा दिल्ली युनिभर्सिटीका राजनीति शास्त्रका प्रोफेसर डा.संगीतकुमार रागीलाई बोलाएका छन् ।

बीएण्डसी अस्पतालका संचालक प्रसाईको निमन्त्रणामा हिजो नेपाल आएका रागीले आज सुनसरीको इटहरीमा आयोजना हुने सभालाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।हिन्दुवादी चिन्तकको रुपमा परिचित रागी दिल्लीबाट बागडोक्रा हुँदै त्यहाँबाट स्थल मार्गबाट नेपाल आएका हुन् । उनलाई बीएण्डसी अस्पताल परिसरमा प्रसाईले स्वागत गरेका थिए ।
रागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग नजिकको संबन्धमा रहेको बताइएको छ । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको व्यानरमा केही समयदेखि विभिन्न गतिविधि गर्दै आएका प्रसाई भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबाट परिचालित रहेको आरोप रहेको छ ।
गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई ९ दिनसम्म हिरासतमा थुनिएपछि बिरामी भएर अस्पतालमा भर्ना भएका थिए । हिरासतबाट छुटेपछि प्रसाईले पहिलो पटक कार्यक्रम गर्न लागेका हुन् ।