
झापा,कात्तिक १३ । वैदेशिक रोजगारीमा जाने श्रमिकले बैंकमार्फत विनाधितो ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि कार्यविधि बनाउँदैछ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रालयले सरोकारवालासँग छलफल अगाडि बढाएको छ ।
महँगो ब्याजदरमा ऋण लिएर वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न मन्त्रालयले बैंकमार्फत विनाधितो ऋणको व्यवस्था गर्न लागेको हो । मन्त्री शरतसिंह भण्डारीले आफ्नो पहिलो १०० दिने कार्य विवरण सार्वजनिक गर्दै श्रमिकलाई बैंकहरूसँग सम्झौता गरेर विनाधितो ऋण उपलब्ध गराउन लागेको बताएका थिए । कात्तिक ९ गते आयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च बैंकले ऋणमार्फत दिने व्यवस्था गर्न लागिएको बताएका थिए ।
बैंकले दिने उक्त ऋण श्रमिकको खातामा नभई सिधै मेनपावर व्यवसायीलाई पठाउनेगरी व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले त्यसका लागि यसअघि नै नीतिगत व्यवस्था गरिसकेको छ । अहिले कार्यविधिको अन्तिम मस्यौदा तयार भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
गाउँघरमा वैदेशिक रोजगारीमा जान चाहने कतिपयले महँगो ब्याजदरमा साहु महाजनसँग ऋण लिनुपर्ने बाध्यता छ । खासगरी विपन्न वर्गका युवाले यस्तो समस्या बढी झेल्दै आएका छन् । यस्तो अवस्था अन्त्यका लागि बैंकबाट सिधै ऋण दिने व्यवस्था गर्न लागेको मन्त्री भण्डारीको भनाइ थियो ।