झापा, कात्तिक १३ । झापा शिवसताक्षी ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेको ६ दिनपछि सो संस्थाका व्यवस्थापकलाई पनि प्रहरीले पक्राउ गरेको छ।
संस्थाका अध्यक्ष सुमन खनाल पक्राउ परेको ६ दिन पछाडि अर्थात् कात्तिक ११ गते सो सहकारी संस्थाका व्यवस्थापक मित्रलाल भट्टराई पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्णकुमार चन्दले बताए । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो। सो सहकारी संस्थाका सदस्यले बचत गरेको रकम हिनामिना गरेको आरोपमा भट्टराईविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरिएको डीएसपी चन्दले बताए । उनले अध्यक्ष र व्यवस्थापकविरुद्ध ३७ जना बचतकर्ताले उजुरी दिएको बताउँदै उजुरीमा ४३ लाखको विगो दावी गरिएको जानकारी दिएका छन् ।
बचतकर्ताको रकम अपचलन गरेको आरोपमा अध्यक्ष खनाललाई प्रहरीले घरैबाट गएको कात्तिक ५ गते नियन्त्रणमा लिएको थियो। उन्नति बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले लेखा तथा सुपरीवेक्षण समितिका पदाधिकारीसहित सदस्यलाई पनि पक्राउ गरी अनुसन्धान गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
पक्राउ परेका भट्टराई यसअघि उन्नति बचत तथा ऋण सहकारी संस्थाको संकलकका रूपमा कार्यरत थिए। पछि उनलाई कार्यालय प्रबन्धकको जिम्मेवारी दिएको स्थानीय बचतकर्ताले बताएका छन्। भट्टराईकी श्रीमती सो सहकारी संस्थाकी उपाध्यक्ष हुन् । उनीविरुद्ध पनि उजुरी परेको स्रोतको भनाई छ ।
प्रहरी स्रोतका अनुसार सहकारीको बचत अपचलनमा अध्यक्ष खनाल र व्यवस्थापक भट्टराईको मिलेमतो छ । भट्टराई पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट रकम हिनामिना आरोपमा कारबाहीमा परेका थिए । पूर्व नेपालबाट निकालिएपछि उनी उन्नतिमा पुगेको बताइएको छ ।
झापाको क्षेत्र नम्बर ४ (१)बाट निर्वाचित नेकपा (एमाले) का सांसद राधाकृष्ण खनालका छोरा सुमन खनाल अध्यक्ष रहेको उन्नति साकोसको रकम हिनामिना भएको हो । यो सहकारी सुमनको अग्रसरतामा २०६६ सालमा खुलेको हो । स्थापनाकालदेखि उनी आफैं अध्यक्ष छन् । नक्कली ऋणीसमेत खडा गरेर ऋण लगानी गर्दै सहकारीको रकम हिनामिना गरिएको फेला परेको छ ।
आर्थिक वर्ष २०७८÷०७९ मा रमेश अधिकारीको नाममा १ लाख ९१ हजार ८ सय ४९ रुपैयाँको कर्जा लगानी गरेको देखिन्छ । तर, त्यो ऋण नै नक्कली रहेको नगरपालिकाले गठन गरेको छानबिन समितिले पत्ता लगाएको छ ।
उन्नतिमा सर्वसाधारणले बचत गरेको १ करोड ३८ लाखभन्दा बढी बचत अपचलन भएको छ ।
गत वर्ष सहकारीमा ठगी भएको उजुरी परेपछि शिवसताक्षी नगरपालिकाले छानबिन गरेको थियो । छानबिनका क्रममा अध्यक्ष खनालले आर्थिक वर्ष २०७८÷०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको देखियो ।
भौचर बिना बचतकर्ताको रकम २ लाख ६ हजार ८ सय ६८ रुपैयाँ अध्यक्षले नै निकाले । बचतको ४२ लाख रूपैयाँ हिनामिना गरेको छानबिनका क्रममा देखिएको थियो । उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९÷०८० मा २ लाख ३६ हजार ८ सय ४० रुपैयाँ निकालेर अध्यक्ष खनालले आफ्नो खातामा हालेका थिए ।
आर्थिक वर्ष २०७७÷०७८ मा ५ लाख ४९ हजार रुपैयाँ आफैंले चलाएका थिए । लेखापरीक्षण प्रतिवेदनमा संस्थाले लगानी गरेको रकमभन्दा ५ लाख ४९ हजार ५ सय १२ रुपैयाँ बढी देखिएको थियो ।
अध्यक्षले आर्थिक वर्ष २०७८÷०७९ सम्म ४४ लाख ३४ हजार १ सय ६७ र आर्थिक वर्ष २०७९÷०८० मा १६ लाख ३१ हजार ३ सय ८७ रुपैयाँ गरी ६० लाख ६६ हजार १ सय ९६ रूपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।‘उल्लेखित कैफियतहरुलाई समावेश गर्दा संस्थाको अध्यक्षबाट आर्थिक वर्ष २०७८÷०७९ को अन्त्यमा १ करोड ४४ लाख ८० हजार ३ सय ९४ रुपैयाँ पाउनुपर्ने देखिन्छ । साथै, आर्थिक वर्ष २०७९÷०८० को अन्त्यमा १ करोड ६२ लाख ६२ हजार ३ सय ६९ रुपैयाँ पाउनुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा उल्लेख भएको विवरण अनुसार खनालको शेयर खातामा १ लाख १० हजार छ । बचत खातामा थप २३ लाख २२ हजार ५ सय ९९ रुपैयाँ गरी जम्मा २४ लाख २५ हजार ५ सय ९९ रुपैयाँ सहकारीमा देखिन्छ । उनीबाट थप १ करोड ३८ लाख असुल गर्नुपर्ने देखिन्छ ।
छानबिन समितिले प्रतिवेदन दिएपछि २०८० फागुन २४ गते वडा कार्यालयमा अध्यक्ष खनालले २ महिनाभित्र हिसाबकिताब मिलाउने कागज गरेका थिए । तर, उनले समस्या समाधान गर्न चासो नदिएपछि प्रहरीले पक्राउ गरेको हो ।