बिर्तामोड, कात्तिक १४ । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने अखिल नेपाल महिला संघको चेतावनीप्रति पार्टीनिकट युवा संघकी केन्द्रीय सदस्य शोभा पाठकले आपत्ति जनाएकी छन् ।
उनले सबै महिला मिलेर अखिल नेपाल महिला संघको पार्टी आँगन घेराउ गरी सामाजिक कार्वाही गर्ने चेतावनीसमेत दिएकी छन् । केही दिनअघि नेकपा एमालेनिकट अखिल नेपाल महिला संघ झापाले महिलामाथि हिंसा एवम् दुर्व्यवहारपूर्ण अभिव्यक्ति दिने पार्टीका पूर्व केन्द्रीय सदस्य तथा बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईलाई कानुनी कठघरामा पुर्याउने चेतावनी दिएको थियो ।
हाल राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईले राजनीति गर्ने महिलाहरु गलत काममा संलग्न हुने अभिव्यक्ति दिएको अनेमसंघका महिलाहरुको आरोप थियो । कात्तिक ११ गते नेकपा एमाले झापा जिल्ला पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अनेमसंघ झापाले प्रसाईले दिने गरेका महिलाविरुद्धका अभिव्यक्तिहरुको तथ्य संकलन गरेर कानुनी कारबाहीको तयारी गरेको बताएको थियो ।
त्यसको सामाजिक संजालमार्फत प्रतिक्रिया दिँदै युवा संघकी केन्द्रीय सदस्य पाठकले सर्वहारा वर्ग, भुइँमान्छे, उत्पीडित वर्ग र महिलाहरुको आवाज उठाउने दुर्गा प्रसाईलाई औंला ठड्याउने काम भयो भने महिलाहरु सबै मिलेर अनेमसंघको पार्टी घर आँगन घेराउ गरी सामाजिक कार्वाही गर्न बाध्य हुने सामाजिक संजालमार्फत चेतावनी दिएकी हुन् । विज्ञप्ति जारी गर्ने पाठक एमाले नेता महेश बस्नेतसँग पाँच वर्षदेखि सम्बन्धमा रहेको भन्दै चर्चामा आएकी महिला हुन् ।