झापा, कात्तिक २२ । हुलाकी राजमार्गअन्तर्गत कन्काई नदीमा वर्षौसम्म पक्की पुल निर्माण नभएपछि बाँसको पुल निर्माण भएको छ ।
वर्षातका बेला बाढीले बगाउने गरेपनि सहज आवतजावतका लागि हिउँद लागेपछि स्थानीय व्यवसायीले अस्थायी नै भएपनि बाँसको पुल निर्माण गरेका हुन्।
बुधबार पुल निर्माण भएपछि हुलाकी राजमार्ग भएर पूर्वपश्चिम गर्ने सर्वसाधारणले उक्त पुल प्रयोग गर्न थालेका छन्। यसअघि गौरीगञ्जको कुञ्जीबारीबाट झापा बजार जान पूर्वपश्चिम राजमार्ग हुँदै सर्वसाधारणलाई जान आउन समस्या थियो । मोटरसाइकलमा घुमेर आउँदा करिब डेढ घण्टाको समय लाग्थ्यो भने पुल निर्माण भएपछि १५ मिनेटमा आउन जान सकिने स्थानीय धिरज राजवंशीले बताए ।
अटोरिक्साले कुञ्जीबारीबाट दुधे हुँदै सुरुङ्गबाट झापा बजार पुगेको १ हजारसम्म लिने गरेको उनले बताए । अब सिटी सफारीमै कुञ्जीबारीबाट झापा बजारसम्म पुग्नलाई प्रतिव्यक्ति एक सयसम्ममा पुग्न सकिने उनले बताए । ‘सिटीभाडा यति हो भनेर ठ्याक्कै किटान गर्न त सक्दिनँ । तर दुरीका हिसाबले सयभन्दा बढी नपर्नुपर्ने हो,’ उनले भने ।
उक्त पुलबाट वारपार गरेबापत प्रतिव्यक्ति २० रुपैयाँ व्यवसायीलाई सर्वसाधारणले बुझाउनुपर्छ। यस्तै साइकलमा ओहोरदोहोर गरे ४० रुपैयाँसम्म लिन पाउने स्थानीय गौरीगञ्ज गाउँपालिकाले दर तोकिदिएको छ । मोटरसाइकलसहित एकजना मान्छेको दोहोरो ८० रुपैयाँ व्यवसायीले लिन पाउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।
गौरीगञ्ज गाउँपालिकाले कन्काई नदीबाट निर्माण सामग्रीको बिक्री वितरणका लागि ठेक्का लगाएको थियो। ठेक्का पाएका व्यक्तिले उक्त पुल निर्माण गरेको वडा नम्बर १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । पालिकाले तोकेको दरमा सर्वसाधारणले बाँसे पुल प्रयोग गर्नेछन् । ‘पालिकाले तोकेकोभन्दा अतिरिक्त रकम ठेकेदारले सर्वसाधारणसँग असुल गरे ती व्यक्तिलाई पालिकाले कारबाही गरी ठेक्का रद्द गर्न सक्ने छ,’ उनले भने ।पुल उपभोगको सेवा शुल्क सार्वजनिक ठाउँमा टाँस गरिने उनले बताएका छन् ।
गौरीगञ्ज गाउँपालिका वडा नं १ र झापा गाउँपालिका वडा नं २ को हुलाकी राजमार्गमा पर्ने निर्माणाधीन कन्काई पुल छेउमा बाँसलाई फुटाएर भाटाको पुल निर्माण भएको वडा अध्यक्ष राजवंशीले बताए । पुलबाट अटोरिक्सा, सिटी सफारी, मोटरसाइकल, साइकल र पैदलयात्री वारपार गर्न सक्छन् । कन्काईको पश्चिम क्षेत्रबाट पूर्वतर्फका झापा गाउँपालिका, बाह्रदशी, हल्दीबारी, भद्रपुरलगायत भारत गलगलियासम्म पुग्न पुल निर्माण भएपछि सर्वसाधारणलाई सजिलो भएको छ। यस्तै पूर्व क्षेत्रबाट दक्षिण पश्चिम जानका लागि कन्काईमा पुल नहुँदा महेन्द्र राजमार्ग हुँदै पश्चिम जानुपर्ने सर्वसाधारणको दिग्दारी हटेको छ ।
बर्खा सुरु भएलगत्तै कन्काई नदीमा आएको बाढीले यो पुललाई बगाउने गर्छ। र हिउँद महिना सुरु भएपछि ठेकेदारले यसरी नै कन्काईमा बाँसको अस्थायी पुल बनाएर सर्वसाधारणलाई न्यून शुल्कमा वारपार गराउने गरेको स्थानीयवासीले बताएका छन्। यसबाट सर्वसाधारणले राहत महसुस गरेका छन्। ५ फिट चौडाई भएको यो पुल २०० मिटर लामो रहेको छ । ठेकेदारका अनुसार यो पुल निर्माण गर्न साढे तीन लाख खर्च भएको छ ।