झापा, कात्तिक २३ । गएराति  झापाको दुई ठाउँमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् ।  

झापा गाउँपालिका र बिर्तामोड नगरपालिकामा आगलागी भएको हो । आज विहान रातको १ः३० बजे झापा गाउँपालिका ३ सिमलवाडी लालमोहरस्थित वसिया हेमरमको भान्सा कोठामा रहेको चुलोवाट आगलागी भएको हो । जस्ता पाताले बारेको ,जस्ता पाताको छानो भएको सखुवा र सिमेन्टको खम्वा भएको घर र भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

घरमा रहेको नगद १० हजार , कुखुरा १० वटा ,जस्ता पाता, धान ८ मन ,चामल ३ बोरा , लत्ताकपडा, भाडाकुडा समेत गरी ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिव १० लाखको क्षति भएको छ ।
गएराति ८.३० बजे बिर्तामोड– ८ प्याकुरेल चोक बस्ने शिवलाल गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो । आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका २ वटा ग्यास सिलिण्डर पड्किएको थियो । आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन,अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका छन् । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ । स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्