झापा,कात्तिक २३ । सुनसरीको क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनेर फरार भएका कर्तब्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
दुई पटकसम्म जेलबाट सुरुङ खनेर भाग्न सफल भएका यादव भारतमा लुकीछिपी बस्दै आएका थिए । चाडपर्वका बेला गाउँ आउने जाने गरिरहेका उनलाई प्रहरीले छठ पर्वमा घर आएको मौका छोपेर पक्राउ गरी शुक्रबार विहान सार्वजनिक गरेको हो ।
झुम्का कारागारमा सुरुङ खनेर भागेका यादव दोस्रो पटक सिन्धुपाल्चोक कारागारबाट पनि सुरुङ खनेर भागेका थिए । त्यसयता ९ वर्षपछि फेरि प्रहरीले पक्राउ गरेर उनलाई फेरि कारागार पु¥याएको छ ।
यादवलाई बिहीबार साँझ छठ पर्व मनाउँदै गरेको अवस्थामा सुनसरीको कोशी गाउँपालिका–८ स्थित पत्थरचट्टान भन्ने ठाउँबाट पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
बिहीबार साँझ छठमा रमाइरहेका यादव प्रहरीलाई देखेपछि भाग्न खोजेका थिए । त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । प्रहरीले गोली चलाएपनि यादवलाई भने लागेन । गोली चलेपछि आत्तिएका यादव लडेका थिए ।
उनलाई बाँकी सजाय भुक्तानका लागि शुक्रबारनै कारागार चलान गरिएको डीएसपी तिमिल्सिनाले बताए ।
प्रहरीका अनुसार यादव र उनका साथी श्याम भनिने श्यामकुमार यादवले मिलेर २०६५ साल बैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर– ६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए । त्यसबेला प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
कार्की हत्या आरोपमा दोषी ठहर भएका यादवलाई जिल्ला अदालतले २० वर्ष ८ महिना १४ दिन कैदको फैसला सुनाएको थियो । यादव झुम्का कारागार चलान भएका थिए ।
तर यादवसहित १२ जना कैदीहरू भएर २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर झुम्का कारागारबाट फरार भएका थिए ।