झापा, कात्तिक २५ । लोपोन्मूख आदिवासी मेचे जातिको साझा जातीय संस्था मेचे समाज सिवियारी आफातको अध्यक्षमा विरेन मेचे निर्वाचित भएका छन् ।
हिजो मेचीनगरको धाइजनमा सम्पन्न मेचे सिवियारी आफातको ११ औ केन्द्रीय महाधिवेशनबाट विरेन केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष रन्जित मेचेलाई ८ मतले पराजित गरी विरेन अध्यक्षमा निर्वाचित भएको निर्वाचन मण्डलीले जनाएको छ । विरेनले २०९ मत ल्याउँदा रन्जितले २०१ मत पाएका छन् ।
अध्यक्षबाहेक अन्य पदहरुमा सर्वसम्मत भएको थियो । बरिष्ठ उपाध्यक्षमा कमल मेचे, उपाध्यक्षमा सीता श्रेष्ठ मेचे,महासचिव कालु मेचे,सचिव महेश मेचे र कोषाध्यक्षमा अमृतलाल मेचे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा राजकुमार मेचे, सुनिल मेचे, काजी मेचे , शर्मिला मेचे राई , अर्जुन मेचे र अमृत मेचे गरि १२ जनाको समिति चयन भएको निर्वाचन मण्डलीका संयोजक सन्तलाल मेचेले जानकारी दिएका छन् ।
दुईजना महिला र एकजना पुरुष गरी ३ जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । जम्मा सदस्य संख्या ७१८ रहेको मेचे समाज सिवियारी आफातको महाधिवेशनमा ४१६ मत खसेको थियो ।जसमा ६ मत बदर भएको थियो ।