झापा , कात्तिक २६ । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा नवजात शिशु (छोरा)गर्भपतन गराएर फरार महिला पक्राउ परेकी छन् ।
हिजो साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्ने बिर्तामोड १० की गुरुङ थरकी अदाजी ३५ वर्षीया महिला रहेकी छन् । विवाहित ती महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेको बुझिएको छ । अवैध सम्बन्धबाट गर्भ रहेपछि त्यसलाई क्लिनिकमा गर्भपतन गराएर उनी फरार भएकी थिइन् । त्यो गर्भ कसको हो भनेर ती महिलाले व्यक्तिको नाम नखुलाएपनि गोलधापतिरका व्यक्तिको भएको स्वीकारेको बताइएको छ ।
ती महिलासंगै उनलाई लिएर आउने सिटी सफारी चालकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । ती सिटी सफारी चालक बिर्तामोड १० का दाहाल थरका व्यक्ति हुन् । उनले नै ती महिलालाई सिटीमा चढाएर क्लिनिक लिएर गएका थिए ।
प्रहरीले गर्भपतन गराउने द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरका संचालक सुजन घिमिरेमाथि पनि निगरानी राखेको छ । घिमिरेले औषधि दिएपछि ती महिलाको गर्भपतन भएको थियो । गर्भपतनपछि नवजात शिशु शौचालयमा फालेर ती महिला फरार भएकी थिइन् । पेट दुख्यो भनेर ती महिला आएकी र आफूले पेट दुखेको इन्जेक्सन लगाइदिएको घिमिरेको दावी छ ।
प्रहरीले प्रिस्किप्सन र औषधि लिएर गएको छ । शनिवार बिहान ती महिला उपचारका लागि सो क्लिनिकमा आएकी थिइन् । सोही दिन दिउँसो शौचालयमा मृत शिशु फेला परेको थियो ।१० महिना उमेर पुगेको शिशुलाई जीवित जन्माएर शौचालयमा फालेको अनुमान गरिएको छ ।