बिर्तामोड , कात्तिक २६ । बिर्तामोड– ४ स्थित नयाँ मिलन बचत तथा ऋण सहकारी संस्था लि. ले उत्कृष्ट कारोबार गर्ने ४१ जना सक्रिय सदस्यहरुलाई सम्मान गरेको छ ।

सोमवार सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा आयोजित संस्थाको आठौं वार्षिक साधारण सभाका अवसरमा उत्कृष्ट सदस्यहरुलाई सम्मान गरिएको हो । त्यस्तै ४ जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष पशुपति बरालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले गत बर्षभन्दा ३४७ शेयर सदस्य थप अर्थात १० प्रतिशत बृद्धि भएको , बचततर्फ ६ करोड ९६ लाख ५४ हजार ८ सय ६२ रुपैयाँ अर्थात २३.४३ प्रतिशत वृद्धि भएको , कर्जा लगानीतर्फ २ करोड ५८ लाख ६६ हजार २ २४ रुपयाँ अर्थात ८.९२ प्रतिशत वृद्धि गर्न संस्था सफल भएको जानकारी दिए ।

तरलताको रुपमा संस्थामा राख्नु पर्ने रकम समेत मापदण्डभन्दा माथि १० करोड १ लाख नगद १ सय २९ रुपैयाँ राखिएको र आगामी आर्थिक वर्षबाट न्यूनतम २० प्रतिशत तरलता संचित गरेर सोभन्दा बढी भएको रकमलाई मात्र सदस्यहरुलाई कर्जा लगानी गरिने नीति अवलम्वन गरिने उनको भनाई छ । कुल सम्पत्ति ४२ करोड ६४ लाख ३५ हजार ७ सय ५५ रुपैयाँ बनाउन संस्था सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै लेखा संयोजक प्रमिला बोहोराले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओली , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने , नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा समाजसेवी राजकुमार पोखरेल , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेललगायतको पनि आतिथ्यता रहेको थियो । व्यवस्थापक सुमित्रा रेग्मीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन हेमन्त संग्रौलाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्