शिवगञ्ज, कात्तिक २६ ।शिवसताक्षी नगरपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

झापाको दमक– ५ स्थित सानो प्रयास युवा समाज नामक सामाजिक संस्थाले स्थानीय वडा नम्बर ४ को पाथिभरा आधारभूत विद्यालयका २०५ जना छात्र छात्रालाई शैक्षिक सामग्री प्रदान गरेको हो। सो विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न वर्गका छोराछोरी हुन् । उनीहरू आदिवासी जनजाति तथा दलित समुदायका हुन् ।
सो विद्यालयका कतिपय विद्यार्थी खाली पेट विद्यालय जाने गरेको विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले बताए । ‘बाबुआमाको गरिबीका कारण विद्यार्थीले अघाउन्जेल खान पाउँदैनन्,’ विद्यालयका प्रधानाध्यापक ताजपुरियाले भने ‘खाना नपाउनु एउटा समस्या छँदैछ , अर्को समस्या झोलामा शैक्षिक सामग्री नहुनु हो।’
छोराछोरीको शैक्षिक सामग्री, बिहान बेलुकाको खाना, लत्ताकपडालगायतका वस्तुको जोहो गर्न विद्यार्थीका अभिभावक कृषि मजदुरका रूपमा काम गर्छन्। काम गरेको पैसाले बिहान बेलुकाको छाक टार्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले बताए । उनले भने, ‘कतिपय विद्यार्थीको सरसफाईमा अभिभावकले ध्यान दिन भ्याउँदैनन् । यो उनीहरूको बाध्यता हो ।’
ठाउँ ठाउँमा टालेको एउटै कपडा महिनौसम्म लगाएर विद्यालय आउनु विद्यार्थीको पनि बाध्यता हो। विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थीको झोलामा पाठ्यपुस्तक भएपनि कपी, बलपेन, पेन्सिल, इरेजर, सार्पनर, जमेट्री बक्स लगायतका शैक्षिक सामग्री हुँदैन । तामाङका अनुसार पाथिभराका विद्यार्थीको शैक्षिक सामग्री नहुँदा पठनपाठनमा समस्या भएको समाचार स्थानीय पत्रकारले प्रकाशन गरेपछि दाताले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन् ।
सानो प्रयास युवा समाजले प्रत्येक विद्यार्थीलाई पाँच थान कपी, बलपेन, पेन्सिल, इरेजर, सार्पनरलगायतका शैक्षिक सामग्री प्रदान गरेको थियो । संस्थाका सल्लाहकार समितिका संयोजक बम पौडेलले भने ‘हामीले यस्तै लक्षित समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयलाई शैक्षिक सामग्रीहरू प्रदान गरेर उनीहरूको सिकाई सहजीकरण गर्छौं। संस्थाको नाम अनुसारको काम हामीले झापाका विभिन्न सामुदायिक विद्यालयहरूमा वर्षेनि सहयोग गर्दै आइरहेका छौं ।’ दाता संस्थाले आफ्नै नामको कापी विद्यार्थीहरूलाई प्रदान गरेको हो।
शैक्षिक सामग्री पाएपछि विद्यार्थी मात्र होइन, उनीहरूका अभिभावक पनि कार्यक्रममा खुसी देखिन्थे । संस्थाका पदाधिकारीसहित समितिका अधिकांश सदस्य विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न विद्यालयमै आएका थिए।
संस्थाका सल्लाहकार समितिका अध्यक्ष बम पौडेलले पाथिभरा आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई ओम शान्ति डेन्टल हस्पिटल दमकमा उपचार खर्चमा ३० प्रतिशत र ओपिडीमा निःशुल्क गर्ने घोषणा गरे । ‘अस्पतालसँगको समन्वयमा सानो प्रयासले पाथिभराका सबै विद्यार्थीको दाँत सम्बन्धीको उपचारमा सहयोग पु¥याउने छ’ उनले भने ।
झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश १ का सांसद राधाकृष्ण खनालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णु प्रसाई, नेपाली कांग्रेसका नेता भक्ति सिटौलालगायतले बोलेका थिए।
संस्थाका अध्यक्ष छवि ढकालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाले गरेका थिए। कार्यक्रमको सञ्चालन दाता संस्थाकी तनुजा दुलालले गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीको निःशुल्क दन्त परीक्षणसमेत गरिएको थियो। ओम शान्ति डेन्टल हस्पिटल दमकको प्राविधिक सहयोगमा दन्त शिविर सञ्चालन भएको पाथिभरा आधारभूत विद्यालयले जनाएको छ।