दमक, कात्तिक २९ । दमक नगरपालिका– ९ का ३७ वर्षीय यामु निरौलाको हत्यामा संलग्न भएको आरोपमा बुद्धिमान थापा पक्राउ परेका छन् ।

पक्राउ पर्ने थापा प्रदेश सांसद होम थापाका सहोदर भाइ र नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाका सहोदर दाजु हुन् । राजनीतिमा निकै प्रभाव जमाएका दमक ८ का थापा परिवारका बुबा हरिश्चन्द्र थापाको १५ दिनअघि निधन भएपछि फरार सूचीमा रहेका बुद्धिमानलाई प्रहरीले काजकिरिया सकिएपछि आज पक्राउ गरेको हो । उनीहरु दाजुभाइ सपरिवार दमक ८ स्थित निवासमा स्वर्गीय बुबाको काजकिरियामा रहेका थिए । थापाका बुबाको १३ औं दिनको पुण्यतिथि मंगलवार परेको थियो । पक्राउ परेका थापालाई सदरमुकाम लगिएको छ ।

राजनीतिक संरक्षण रहेको थापालाई घटना भएको २३ दिनपछि प्रहरीले पक्राउ गरेको हो । शुरुमा उनीविरुद्ध जाहेरी लिन नमानेको दमक प्रहरीले चर्को आन्दोलनपछि मात्र जाहेरी लिन बाध्य भएको थियो । निरौला हत्यामा संलग्न ९ जनामाथि जाहेरी परेको छ । त्यसमध्ये ८ जना पक्राउ परेका छन् भने सुनसरी इटहरीका डेबिड घले पक्राउ परेका छैनन् ।

हत्या आरोपमा थापासहित संखुवासभा मादी नगरपालिका– १० घर भई दमक– ३ बस्ने गणेश दर्जी, उर्लाबारी– ६ का प्रकाश कार्की , उर्लाबारी– ७ का ध्रुव गौतम, एमाले कार्यकर्ता नमकुमार चेम्जोङ , दमक– ३ का राजु भनिने शेरबहादुर नेम्बाङ ,दमक ८ का पूर्व वडा सदस्य तथा नगर खेलकुद विकास समिति दमकका अध्यक्ष भीम चम्लागाई र एमाले कार्यकर्ता गोपाल भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले बताए ।

मृतक परिवारले चर्को आन्दोलन गरेपछि मात्र प्रहरीले घटनामा संलग्न आरोपितहरुमाथि जाहेरी लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि घटनाको ७ दिनपछि परिवारले निरौलाको अन्त्येष्टि गरेको थियो । गत कात्तिक ६ गते दिउँसो अन्दाजी ४ः२४ बजे दमक –३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको बिषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्