झापा, मंसिर १ । भन्सार छलेर ल्याएको अढाई लाख मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
आज दिउँसो ३.२० बजे बिर्तामोड– ५ को महानन्द चोकमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ आउँदै गरेका बिभिन्न सवारीसाधन चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको अढाई लाख मूल्य बराबरको ७ बोरा लत्ताकपडा बरामद गरेको हो । सामान बरामद गर्ने क्रममा सामान ल्याउने महिलाहरुसंग सशस्त्र प्रहरीको खोसाखोस भएको थियो ।सामान ल्याउने र स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।
बरामद सामान भन्सार बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मदनकुमार रसाईलीले जानकारी दिएका छन् ।