विनोद सापकोटा,
झापा ।नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले शनिबार मुलुकका सातवटै प्रदेशबाट व्यवसायी जागरण अभियान सुरु गरेको छ ।

केन्द्रीय निर्णयअनुसार सातवटै प्रदेशमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको जागरण अभियान सुरु भएको महासंघले जनाएको छ ।

कोशी प्रदेशको मोरङ, सुनसरी, धनकुटा, उदयपुरलगायतका जिल्लाका करिब १सय व्यवसायीलाई अभियानका बारेमा जानकारी दिइएको महासंघका केन्द्रीय सहकोषाध्यक्ष रविन बरालले बताए । कोशी प्रदेशका लागि केन्द्रले केन्द्रीय उपाध्यक्ष सरोज मास्केको संयोजकत्वमा आठ सदस्यीय टोली परिचालन भएको छ ।

सो टोलीमा केन्द्रीय सचिव महेश शर्मा, महिला सचिव कोपिला गिरी, सहकोषाध्यक्ष रविन बराल, कोशी प्रदेशका अध्यक्ष जीवन नेपाल, केन्द्रीय सदस्य हरि पौडेल, राजमणि गौतम, विक्रम कार्कीको टोली परिचालित छ । यस्तै सो अभियानमा पूर्व केन्द्रीय सदस्य उमेश अधिकारी र रविन्द्र बराल पनि परिचालित छन् । यो अभियान मंसिर ८ गतेसम्म सञ्चालन हुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।

इटहरीको दुर्गा पार्टी प्यालेसमा शनिवारदेखि सुरु भएको जागरण अभियानमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अबको योजना र भावी रणनीतिका बारेमा व्यवसायीलाई जानकारी गराइएको थियो । यो अभियानले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघमा आबद्ध रहेका र नरहेका व्यवसायीहरूलाई गोलबद्ध गरी महासंघको उद्देश्य,नीति लक्ष्य र भावी कार्ययोजनामा समावेश गराउने मुख्य उद्देश्य रहेको महासंघका केन्द्रीय सचिव महेश शर्माले बताए ।

देशभर रहेका व्यवसायीको साझा समस्या र चुनौती पहिचान गरी त्यसलाई निराकरण गर्न महासंघले जागरण अभियान सुरु गरेको उनले बताए । उनले भने, ‘व्यवसायीको समस्याहरूको समाधानका लागि व्यवसायीहरूसँग छलफल, बहस र अन्तरक्रिया गर्ने जागरण अभियानको मुल उद्धेश्य हो । महासंघले अब चाल्ने अबको रणनीति कस्तो हुनुपर्छ त्यसको खाका ग्रासरुटका व्यवसायीबाट संकलन गरि त्यो दस्तावेजलाई महासंघको बैठकलगायतका फोरममा प्रस्तुत गरि कार्यान्वयन गरिने छ ।’

महासंघको सदस्यता नलिएका गैरपुस्तक व्यवसायीलाई महासंघमा आबद्धता गराउने, महासंघको सदस्यता लिएका व्यवसायीहरूलाई परेको समस्याका बारेमा खुल्ला बहस तथा पैरवी गर्ने, शैक्षिक संस्थामा पाठ्यपुस्तकका विषयमा भएका समस्या, राज्यका कारणबाट व्यवसायीहरूमाथि भएको समस्या, स्थानीय तहका आफ्नै नीति नियमका कारणले सिर्जित समस्याको स्पष्ट पहिचान गर्ने र ती समस्याहरूलाई निराकरण कसरी गर्न सकिन्छ भन्ने बारेमा महासंघले दीर्घकालीन योजना बनाउने महासंघका सहकोषाध्यक्ष रविन बरालले बताए ।


जिल्ला, प्रदेश र केन्द्रले आगामी दिनमा प्रस्तुत गर्ने कार्ययोजनामा व्यवसायीका कस्तो प्रकारका समस्याहरु समाधान हुनेछन् भन्ने विषयमा कस्तो नीति बनाउँदा तत् प्रकारका समस्याहरु समाधान हुनेछन् भन्ने विषयमा अब रणनीति बनाउने महासंघले जनाएको छ ।

महासंघले आजका मितिसम्म गरेका राष्ट्रिय रुपमा गरेका शैक्षिक प्रदर्शनीहरु, अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी, काठमाडौँमा गरेका शैक्षिक मेला लगायत अब आउने दिनमा गर्न लागिएका शैक्षिक प्रदर्शनी तथा शैक्षिक महोत्सवमा पनि समग्र व्यवसायीलाई सहभागी गराउनका निमित्त जागरण अभियान कोशेढुँगा हुने महासंघले जनाएको छ ।

पुस्तक तथा स्टेशनरीका खुद्रा, थोक विक्रेता र प्रकाशकका सबै समस्याका बारेमा महासंघले ग्रासरुटबाट नै टिपोट गर्ने भएको छ । महासंघले जारी गरेको फारममा व्यवसायीले दिएका फिडब्याक र रचनात्मक सुझावलाई एकीकृत रुपमा मस्यौदाको रुपमा विकास गरी त्यो फिडब्याकलाई दस्तावेजका रूपमा महासंघका बैठक, विभिन्न फोरम, प्रदेश, जिल्ला र इकाईमा प्रस्तुत गरिने छ । यो व्यवसायलाई पेशाप्रतिको रुचि जगाउन र व्यवसायीलाई जागरुक गरार्ई पुस्तान्तरण गर्ने महासंघले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्