दुधे, मंसिर ३ ।झापाको शिवसताक्षीस्थित एक सामुदायिक विद्यालयका १ सय १ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।
रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले नगरको ११ नम्बर वडास्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका १०१ जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको हो । गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था न्यून भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा ‘ट्रयाक सुट’ र शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका केन्द्रीय कोषाध्यक्ष यज्ञप्रसाद ओली गोपालले जानकारी दिए ।
विद्यार्थीलाई कार्यक्रमका प्रमु्ख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले न्यानो कपडा प्रदान गरेका हुन् । उनले रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको समाजसेवा अनुकरणीय रहेको बताए ।
विद्यालयको एसइई परीक्षाको नतिजालाई हेरेर लाभग्राही विद्यालयको छनौट गरिएको ओलीले बताए । करिब ९ सयको हाराहारीमा अध्ययन गर्ने सो विद्यालयका आदिवासी, जनजाति, दलित र अन्य समुदायका विपन्न विद्यार्थीको पहिचान गरि जाडोको समयमा विद्यालय आवतजावतमा कठिनाइ नहोस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको ओलीले जानकारी दिएका छन् ।
२०७६ सालमा स्थापना भएको यो सामाजिक संस्थाको अक्षय कोष १ करोड छ । अक्षय कोषको ब्याजबाट आउने रकम र प्रतिष्ठानको अन्य व्ययभारमा सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता काम विगत वर्षझैँ भइरहेको उनले बताए । उनले भने,‘प्रत्येक वर्ष आफूहरूले न्यून आय भएका विद्यार्थीलाई यसैगरी सहयोग गर्दै आएकाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएका हौं ।’ रुद्र–गौरी श्री– अम्बिका ओली प्रतिष्ठानले विभिन्न विधाका चार वटा राष्ट्रिय पुरस्कार वितरण समेत गर्ने गरेको छ । यी पुरस्कारको राशि जनही एक लाख माथिको छ ।
विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा दाता संस्थासंग विद्यालयले गरेको छ । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक लालमणी सुवेदीले संस्थालाई धन्यवाद दिए ।
गाउँका विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । विद्यालय तहमा यस्ता कार्यक्रमले सहरका विद्यालयमा अध्ययन अध्यापनका लागि जाने विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने विश्वास शिक्षकले गरेका छन् ।
सामाजिक कार्यमा अग्रसर संस्थाले प्रत्येक वर्ष स्वास्थ्य शिविर गर्नुका साथै निःशुल्क औषधि वितरण पनि गरिरहेको छ भने विपन्न र गरिब विद्यार्थीका लागि न्यानो कपडा, असहायका लागि खाद्यान्न वितरण, ज्येष्ठ नागरिक सम्मान, सामाजिक सेवा मन्दिर सरसफाईलगायत सामाजिक कार्यक्रममा स्वयंसेवक रूपमा सहयोग गर्दै आएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता पर्शुराम ढँुगाना, सतासीधाम साहित्य संगमका अध्यक्ष उमानाथ दाहाललगायतले रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानको खुलेर प्रशंसा गरेका थिए । उनिहरुले हरेक स्थानीय तहमा च्याउ सरी स्थापना भएका सामाजिक संस्थाले रुद्र–गौरी श्री– अम्बिका ओली प्रतिष्ठानको समाजसेवाको अनुसरण गर्न अनुरोध गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक गिरीराज शेर्माले स्वागत गरेका थिए भने विद्यालयका अर्का शिक्षक यादव घिमिरेले संचालन गरेका थिए ।