मेचीनगर, मंसिर ४ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान झापाको मेचीनगरमा संयुक्तरुपमा सञ्चालन हुने भएको छ ।
मेचीनगर नगरपालिकाको बैठक कक्षमा उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता, नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको विशिष्ट आतिथ्यतामा भएको भेलाका सहभागीहरुले यो अभियानलाई सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । सहभागीहरुले १६ दिनसम्म नगरभरि विशेष अभियान सञ्चालन गर्ने धारणा राखेका थिए ।
पछिल्लो समय हिंसाका घटना बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० तारिख (मंसिर १० देखि २५ गते) सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ । अभियानलाई प्रभावकारी बनाउने विषयमा सुझाव संकलन गर्न नगरपालिकाले छलफलको आयोजना गरेको थियो । छलफलमा १६ दिनसम्म नगरभरि विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो ।
मेचीनगर क्षेत्रमा विभिन्न रचनात्मक तथा सकारात्मक कार्यक्रम गरि मनाउन छलफल आयोजना गरिएकोे उपप्रमुख मीना पोख्रेल उप्रेतीको सचिवालयले जनाएको छ । भेलाका सहभागीहरूले आ–आफ्ना संघ संस्थाका तर्फबाट राय प्रस्तुत गरेका थिए ।
नगरपालिकाका महिला सदस्य, महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था, विभिन्न राजनीतिक दलका नेतृत्वदायी भूमिकामा रहेका महिला प्रतिनिधि, सञ्चारकर्मीलगायत सहभागी छलफलको सहजीकरण महिला विकास अधिकृत जयन्ती खरेल लम्सालले गरेकी थिइन् । महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि सरकारले नयाँ कार्यक्रम ल्याउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।