लक्ष्मी उप्रेती,
मेचीनगर । पूर्वी काँकरभिट्टा नाकाबाट भारत तथा अन्य मुलुकसँगको व्यापार ओरालो लाग्दैं गर्दा त्यसको प्रत्यक्ष असर मेची भन्सार कार्यालयको राजस्व असुलीमा परेको छ ।


चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो चार महिनाको कुल राजस्व लक्ष्यको तुलनामा ८६ दशमलव २८ प्रतिशतमात्र संकलन भएको छ । यो अवधिमा कुनै महिनामा पनि कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

भारत, बंगलादेश र भुटानसँग यो नाका भएर हुने व्यापार केही वर्षदेखि ओरालो लागेको हो । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत गणपति कँडेलका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको राजस्व संकलनको लक्ष्य ५ अर्ब ४७ करोड १५ लाख २६ हजार रुपैयाँ थियो । तर, कार्यालयले यो अवधिमा ४ अर्ब ७२ करोड ७ लाख २३ हजार रुपैयाँ अर्थात ८६ दशमलव २८ प्रतिशतमात्र राजस्व संकलन गरेको कँडेलको भनाई छ ।

नाका सुस्ताउँदा यसको प्रत्यक्ष असर कार्यालयको राजस्व संकलनमा परेको भन्सार अधिकारीहरुको भनाई छ । कुनै बेला भन्सार विभागको राजस्व असुलीमा महत्वपूर्ण योगदान पुर्याउने कोशी प्रदेशकै मुख्य भन्सारको रुपमा रहेको मेची भन्सार पछिल्लो समय राजस्व असुलीमा पछि परेको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयको राजस्व असुली ७८ दशमलव ६३ प्रतिशत थियो । गत आर्थिक वर्षमा मात्र होइन, विगतका आर्थिक वर्षदेखि लगातार मेची भन्सारले वार्षिक लक्ष्य हासिल गर्न सकेको छैन । अनेक उपायहरु अवलम्बन गरे पनि लक्ष्य पूरा गर्न नसकिएको भन्सार अधिकारीहरुको भनाई छ । आर्थिक वर्ष २०७९÷०८० मा ७७ दशमलव ५ प्रतिशत राजस्व संकलन भएको कार्यालयको अभिलेखले देखाएको छ । कुनै बेला चौबीसै घण्टा भीडभाड र खचाखच रहने पूर्वको ठूलो मेची भन्सार कार्यालयको परिसर अहिले सुनसानझै बनेको छ ।

भन्सारको राजस्व असुली हरेक वर्ष ओरालो लाग्दैं गएको भन्सार एजेन्ट संघ मेची भन्सारका अध्यक्ष मोहन निरौलाको भनाई छ । भारतको पश्चिम बंगाल राज्यसँग सीमा जोडिएको पूर्वकै ठूलो भन्सार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल हुँदा देशकै अर्थतन्त्रमा समेत असर पुग्ने अर्थविदहरुको भनाई छ ।

मेची भन्सार लक्ष्य भेट्टाउन असफल हुँदा यसको असर माथिसम्म नै पुग्ने संघका सचिव नवराज (कृष्णकान्त ) खनियाँको भनाई छ ।

पश्चिम बंगालको पानीट्याँकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको यो नाका भएर भारत, भुटान र बंगलादेशसँग व्यापार हुने गरेको छ । कोशी प्रदेशमा सबैभन्दा धेरै वैदेशिक व्यापार विराटनगर भन्सारपछि मेची भन्सारबाट हुने गरेको सरकारी अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्