बिर्तामोड, मंसिर ४ । सभामुख देवराज घिमिरेले बजेट अभावका कारण निर्वाचन क्षेत्रका विकास आयोजना प्रभावित भएको बताएका छन् ।

संघीय सांसद निर्वाचित भएको दुई वर्ष पुगेकै दिन मंगलवार झापा क्षेत्र नम्बर २ का आधा दर्जन विकास आयोजना निरीक्षण गर्ने क्रममा सभामुख घिमिरेले मुलुकको शिथिल अर्थतन्त्रको प्रभाव विकास निर्माणमा सोझै परेको बताए । ‘तुलनात्मक रुपमा झापा क्षेत्र नम्बर २ मा धेरै योजना परेका छन्, तर पनि चित्तबुझ्दो अवस्था छैन,’उनले मदन भण्डारी राजमार्ग अवलोकनका क्रममा भने, ‘तथापि मेरो प्रयास निरन्तर हुनेछ ।’

मुलुकको सर्वोच्च जनप्रतिनिधिमुलक संस्था संसदको सभामुखको रुपमा विधि निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनुपर्ने अवस्थामा पनि निर्वाचन क्षेत्रप्रतिको दायित्वबाट पछि नहट्ने सभामुखको भनाइ छ । ‘मलाई निर्वाचन जितेपछि ५ वर्ष जनताकै घरमा पुगेर बिताउँछु भन्ने थियो, परिस्थितिले सभामुख भएपछि भेटघाट कम भएको छ,’ उनले भने, ‘तर, जिल्लाको विकासमा काठमाडौंबाटै धेरैभन्दा धेरै पहल गर्ने अवसर पनि मिलेको छ ।’

सभामुख घिमिरे चार दिनको कार्यक्रम बनाएर आइतवार बिर्तामोड आएका थिए । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सोमबार काठमाडौं पुगेर सोही दिन साँझ पुनःझापा आएका छन् ।

संसद अधिवेशन नभएको र संसदीय गतिविधि कम भएको अवस्थामा सभामुख घिमिरेले जिल्लाको विकास आयोजनालाई प्राथमिकता दिँदै आएका छन् । आइतबार झापा आएलगत्तै बिर्तामोड र कनकाई क्षेत्रको अवलोकनमा निस्किएका घिमिरेले सोमबार निर्माण तयारीमा रहेको सुपारी प्रशोधन केन्द्रको अवलोकन गरेका थिए । मंगलबार बिहानदेखि राति अबेरसम्म घिमिरे प्रदेश सभा सदस्य चिन्तन पाठकसहित राजनीतिक दलका अगुवा, आयोजनाका अधिकारीहरूसहित निर्वाचन क्षेत्र अन्तगर्तका विभिन्न आयोजनामा पुगेका थिए ।

सभामुख घिमिरेले अर्जुनधारा ११ स्थित बुट्टाबारीबाट सालबारी हुँदै कालिकास्थान जोड्ने सडकको स्थलगत अवलोकन गरे । कालोपत्रे हुन नसकेर रोकिएको ९ दशमलव २ किलोमिटर लामो सडकको काम अगाडि बढाउने क्रममा सभामुखले सम्बद्ध पक्ष तथा स्थानीयसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा निर्माण पक्षले आगामी असारसम्ममा निर्माण सम्पन्न हुने जानकारी दिएको थियो ।

सभामुखले मंगलबार नै मदन भण्डारी राजमार्गको शनिश्चरेदेखि मेचीनगर हुँदै इलामसम्मको क्षेत्र अवलोकन गरेका थिए । उनले सडक क्षेत्रका विभिन्न स्थानीयसँग अन्तरक्रिया गर्दै सुझाव लिएका थिए । आयोजनाका लागि बजेट अभाव नभएपनि निर्माण सुस्तता भएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले प्राविधिक समस्या समाधान गर्न मन्त्रालयको नेतृत्वसँग छलफल गर्ने बताए ।

घिमिरेले हात्ती आतंक कम गर्न आफ्नो पहलमा भएको इलेक्ट्रिक फेन्सिङसम्बन्धी कामको प्रगतिबारे जानकारी लिएका थिए । इलेक्ट्रिक फेन्सिङ प्रविधि प्रभावकारी भएको बताउँदै उनले थप क्षेत्रमा विस्तारका लागि पहल गर्ने जानकारी दिए ।

सभामुख घिमिरेले अर्जुनधारा ८ स्थित टोपीचौक लगायतका सडक निरीक्षण गरे । टोपीचौकमा स्थानीयले सभामुखको स्वागतमा कार्यक्रम आयोजना गरेका थिए । सभामुख घिमिरे बुधबार पनि झापाका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्