बिर्तामोड,मंसिर ७ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको शिविरमा एक सय ७४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

बिहीबार र शुक्रबार गरी दुई दिन आयोजित शिविरमा नगरका सबै वडाबाट कुकुर संकलन गरिएको थियो । नगरपालिकाले २०७५ सालदेखि हरेक वर्ष नीति तथा कार्यक्रम अनुसार नै सामुदायिक कुकुरको बन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता शिवाले जनधनको हुनसक्ने क्षतिबाट बच्नको लागि पनि सामुदायिक कुकुर बन्ध्याकरण शिविर उपयुक्त रहेको बताइन् । सामुदायिक कुकुरका कारण सडक दुर्घटनासमेत बढेको भन्दै उनले शिविरले यसको संख्या नियन्त्रणसंगै जोखिम पनि कम हुने बताइन्।

यस्तै नगरका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सामुदायिक कुकुरको संख्या घटाउनको लागि बन्ध्याकरण शिविर प्रभावकारी देखिएको बताए । उनले छिमेकी पालिकाहरुले पनि यस प्रकारको शिविरको आयोजना गर्नु पर्ने बताए ।

शिविर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोड र संलग्न सर्जन डाक्टरहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रमकी अध्यक्ष कार्यपालिका सदस्य संगिता शिवाले सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटा, सर्जन डाक्टर सिजन सैंजु र निशा सञ्जेललाई प्रशंसापत्र प्रदान गरेकी थिइन् ।

सामुदायिक कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न असहज पारिदिने, साना पशु चौपायालाई आक्रमण गर्ने र दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप पनि लगाइएको नगरका पशुपंछी तथा मत्स्य विकास शाखाका प्रमुख डा. नगेन्द्र खड्काले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्