झापा, मंसिर ८ । मुलुकबाट १४ करोड बराबरको कफी निर्यात हुँदा आयात भने झन्डै तेब्बरले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ मा १४ करोड ९२ लाख रुपियाँ बराबरको ८९ मेट्रिक टन कफी निर्यात हुँदा बाहिरी मुलुकबाट ४१ करोड ९८ लाख रुपियाँ बराबरको ४४३ मेट्रिक टन कफी आयात भएको छ ।
यस्तै आव २०७९÷८० मा १३ करोड चार लाख बराबरको ७७.८६ मेट्रिक टन कफी निर्यात हुँदा ३२ करोड ५८ लाख रुपियाँ बराबरको ४५० मेट्रिक टन आयात भएको थियो । निर्यातको तुलनामा आयात उच्च रहेको छ । कफीको खपत बढ्दै गए पनि आन्तरिक उत्पादनले बजार माग धान्न नसक्दा कफीको उत्पादन बढ्न नसक्दा आयातित कफीले बजार धानिरहेको तथ्याङ्कले देखाएको छ । साथै कफी पारखीले विभिन्न स्वादका कफी प्रयोग गर्ने हुँदा पनि आयात बढ्दै गएको देखिन्छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकभर चार हजार ३०९ हेक्टर क्षेत्रफलमा कफी खेती भई वार्षिक ५०१.३ मेट्रिक टन ग्रिनविन कफी उत्पादन हुने गरेको छ । ६५४ हेक्टरमा नयाँ रोपण भएको छ । मुलुकमा उत्पादित कफीको १७ प्रतिशत विदेशमा निर्यात हुने गरेको र बाँकी आन्तरिक बजारमा खपत हुने गरेको बोर्डको तथ्याङ्क छ ।
नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा स्वाद र गुणस्तरको हिसाबले अन्य राष्ट्रको भन्दा बढी मूल्य प्राप्त गर्दै आएको छ । नेपाली कफी निर्यात गर्दा व्यवसायीले सरदर प्रतिकेजी १६ अमेरिकी डलर प्राप्त गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय कफी सङ्गठनको विशेष सहयोगमा बोर्डले सञ्चालन गरेको अनुगमन÷निरीक्षणबाट पनि आन्तरिक बजारमा प्रत्येक वर्ष न्यूनतम दुई हजार दुई सय मेट्रिक टनभन्दा बढी कफी खपत भइरहेको र दिनप्रतिदिन माग पनि उच्च देखिएको छ ।
बोर्डको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा कफी खेतीको क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएको छ । बोर्डका अनुसार आव २०८०÷८१ मा चार हजार ३०९ हेक्टर क्षेत्रफलमा ५०१.३ मेट्रिक टन, आव २०७९÷८० मा तीन हजार ६५५ हेक्टर क्षेत्रफलमा ३९४.४ मेट्रिक टन, आव २०७८÷७९ मा तीन हजार ३४३ हेक्टर क्षेत्रफलमा ३५४.९ मेट्रिक टन, आव २०७७÷७८ मा तीन हजार ५२ हेक्टर क्षेत्रफलमा ३१४.५ मेट्रिक टन कफी उत्पादन भएको थियो ।