झापा, मंसिर ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा शंकास्पद वस्तु फेला परेको छ ।
उक्त वस्तु भेटिएको जानकारीपछि नेपाली सेनाको चारआलीस्थित अरिदमन गणको टोलीले त्यसबारे अनुसन्धान गरिरहेको छ । गौरादह–३ स्थित निवास अघिल्तिर तारले बाँधेको दुईवटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत रहेको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जनाए ।
उक्त वस्तुलाई निष्क्रियका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको मुख्यमन्त्रीका दाजु संविधानसभा सदस्य दीपक कार्कीले बताए । उनले बिहान ११ बजे आफूहरुले सो शंकास्पद बस्तु देखेको बताउँदै सेनाको टोलीले निष्क्रिय पारिसकेको जानकारी दिए । मुख्यमन्त्री कार्की घर आएका बेला शंकास्पद बस्तु राखिएको थियो । उनी आफ्नो निवासबाट गौरादह– २ स्थित हाँसखोरामा वैवाहिक कार्यक्रममा सहभागी हुन गएको जनाइएको छ ।