झापा, मंसिर ८ । तर्साउनका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

अरिदमन गण चारआली व्यारेकबाट गएको डिस्पोजल टोलीले घटनास्थलबाट केही टाढा खेतमा लगेर निष्क्रिय पारेको हो । दुईवटा बोतलमा तारले बाँधेर तर्साउन सो वस्तु राखिएको बताउँदै एक सुरक्षा अधिकारीले त्यसमा विष्फोटक पदार्थ नरहेको जानकारी दिए ।
उक्त वस्तु भेटिएको जानकारीपछि अरिदमन गणको टोलीले गएको थियो । गौरादह–३ स्थित मुख्यमन्त्री कार्कीको निवास अघिल्तिर तारले बाँधेको दुईवटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत फेला परेको थियो । यसअघि पनि मुख्यमन्त्री कार्कीको घरमा त्यस्तै शंकास्पद वस्तु राखेर तर्साउन खोजिएको थियो ।