झापा, मंसिर ९ । एक सातापछि झापाको कन्काई– ६ मा हुन लागेको उपनिर्वाचनमा मुख्यगरी चारजना उम्मेद्वारबीच प्रतिष्पर्धा हुने भएको छ । तर,अहिलेको माहौल हेर्दा गत आवधिक निर्वाचनका उपविजेता स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओलीले बाजी मार्ने देखिएको छ ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा कन्काई –६ मा एमालेका दीर्घबहादुर थापा ५०८ मत ल्याएर निर्वाचित हुँदा स्वतन्त्र उम्मेद्वारी दिएका ओलीले ४४० मत ल्याएका थिए । त्यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए । २०७४ र २०७९ को निर्वाचनको परिणाम र अहिलेको माहौल हेर्दा स्वतन्त्र उम्मेद्वार ओली अरुको लागि भारी पर्ने भएका छन् ।

गत निर्वाचनमा उपविजेता बनेपनि यस पटक निर्वाचन जित्नेमा आफू ढुक्क रहेको घरदैलोमा व्यस्त ओलीले बताए । गत निर्वाचनमा विजयी उम्मेद्वार दीर्घबहादुर थापाले ५०८ मत ल्याएर जित हासिल गर्दा यस पटकको निर्वाचनमा विजयी हुने उम्मेद्वारले साढे ४ सयदेखि पाँच सयसम्म मत ल्याउने आकलन गरिएको छ । किनकि उम्मेद्वार बढेका छन् भने मतदाता घटेका छन् । जसका कारण मत बाँडिन्छ । आफूले साढे ४ सयदेखि पाँच सयसम्म मत ल्याएर जित हासिल गर्ने ओलीको दावी छ ।‘ मैले गत चुनावमा ४४० मत ल्याउँदै गर्दा मेरो ८२ मत बदर भएको थियो ’ उनले भने,‘ यस पटक बदर मत धेरै नहोला अनि सबैको सहयोग छ त्यही भएर चुनाव जितिन्छ ।’

अन्य सर्वेक्षण र माहौलले पनि त्यस्तै देखाएको छ । ओलीको प्रतिष्पर्धा नेकपा एमालेसंग रहने देखिन्छ भने तेस्रो स्थान नेकपा माओवादी केन्द्र र चौथो स्थान नेपाली कांग्रेसले पाउने संभावना रहेको छ । गत निर्वाचनमा एमालेका थापाले ५०८ मत (निर्वाचित), लक्ष्मीप्रसाद ओलीले ४४०(स्वतन्त्र) , रेवतबहादुर रेग्मीले २९४ (नेकपा माओवादी केन्द्र), केशब बिमलीले २०९ (नेपाली कांग्रेस), दिलिपकुमार कार्कीले १९ मत (राप्रपा) ल्याएका थिए । ओलीलाई यस उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र गणतान्त्रिक मोर्चा, स्वतन्त्र नागरिक समाजको समर्थन रहेको छ ।

गत निर्वाचनमा चारजना मात्र उम्मेद्वार रहेका थिए । त्यस बेला २०७१ मतदाता रहँदा १६६७ मत खसेको थियो । यसपटक ९ जना उम्मेद्वार छन् । गत निर्वाचनको भन्दा १३ मतले घटेर यस पटक मतदाता संख्या २०५८ कायम हुँदा करिव १५०० मत खस्ने अनुमान गरिएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले करिव १६०० अर्थात ८० प्रतिशतको हाराहारीमा मत खस्ने दावी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्