झापा, मंसिर १० । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–३ घर भई काठमाडौं बूढानीलकण्ठ बस्ने ४१ वर्षीय कात्तिकलाल राजवंशी, धनुषा मिथिला नगरपालिका–९ घर भई काठमाडौंको कागेश्वरी बस्ने ४१ वर्षीय रविन कोइराला र धादिङको सिद्धलेक गाउँपालिका–७ घर भई काठमाडौंको नयाँबजार बस्ने ३६ वर्षीय पदमबहादुर भुजेल रहेका छन्। राजवंशीले अल्बानिया पठाउने भन्दै ७ लाख ७० हजार, कोइरालाले अस्ट्रेलिया पठाउने भन्दै १ लाख र भुजेलले सर्बियाका लागि ३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्