झापा,मंसिर १० । पूर्व–पश्चिम राजमार्गको पथरीशनिश्चरे १ मा सोमबार साँझ ७ बजे भारतीय ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एनएल ०१ एडि ५५११ नम्बरको भारतीय गाडीले प्रदेश १–००२–०४०प ६०२५ नम्बरको मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका ११ का टार्जन राईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्युु भएको हो ।
भारतीय ट्रक र ट्रकका चालक ४२ वर्षीय दिनेशकुमार दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राईको शव पोष्टमार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पठाइएको छ ।
पूर्वपश्चिम राजमार्ग बिस्तारका क्रममा दुबैतर्फ काम भइरहेको छ । सडक साँघुरो भएका कारण पछिल्लो एक सातायता उर्लाबारी पथरी सडकखण्डमा आठ जनाको सडक दुर्घटनामा मृत्युु भइसकेको छ ।