झापा, मंसिर १२ । झापाको कन्काई–३ टप्पुमा भएको गौहत्यामा संलग्नलाई हदैसम्म कार्वाही गर्न हिन्दुवादी राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ ।

यो अति निन्दित, घृणित र संविधानबिरोधी हर्कत भएकाले जोकोही भएपनि संलग्न सबैलाई तुरुन्तै पक्राउ गरी हदैसम्मको कारबाही गर्न राप्रपा झापाले विज्ञप्तिमार्फत माग गरेको हो । जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले आज एक विज्ञप्ति जारी गरी त्यस्तो हर्कत गर्ने जोकोहीलाई निरुत्साहित गर्न सम्बन्धित निकायसंग मागसमेत गरेका हुन् । ‘यो जघन्य आपराधिक कार्यले मुलुकको धार्मिक सहिष्णुतालाई खलल पुग्ने मात्र होइन, गौमाताप्रति आघात बिश्वास राख्ने आम जनमानसमाथि खुल्ला चुनौती दिएको छ र सिंगो समाजलाई नै मुठभेडको स्थिति निम्त्याएको छ’विज्ञप्तिमा भनिएको छ ।

गौहत्यारालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै धर्मगुरुसहितको शान्तिपूर्ण प्रदर्शनमा सुरुंगामा हिजो साँझ प्रहरी प्रशासनबाट दमन भएको भन्दै घोर निन्दा र भर्त्सना गरिएको छ । स्थानीय लीला संग्रौलाको घरमा डेरा लिएर ज्याला मजदुरी गर्ने व्यक्तिहरुले कन्काई –३ स्थित टप्पु बस्ने पूर्णप्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको पहिलो बेते लैनो गाई चोरी गरी काटेका थिए ।

प्रहरीले गाई काटेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बाह्रदशी –४ ठेगाना भएका ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको हो । पक्राउ पर्ने अन्यमा दिलवर हुसैन, कुरेसा खातुन , मोहिदा खातुन र रोशी खातुन रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्