झापा,मंसिर १४ । वायुको गुणस्तर खस्किएसँगै मास्कको अनिवार्य प्रयोग गर्न चिकित्सकले बताएका छन् । काठमाडौँलगायत विभिन्न सहरहरूमा वायुको गुणस्तर खस्किँदो छ ।
हिउँदयाम सुरु भएसँगै पानी नपर्नु, ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू जलाउनु, उद्योग कलकारखाना तथा भान्साहरूबाट निस्कने धुवाँले, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोका कारणले गुणस्तर खस्किएको हो । यसबाट जोखिन अनिवार्य मास्क प्रयोग गर्न फिजिसियन डा. पुष्पमणि खरालले बताए । ‘वायु प्रदूषणबाट जोगिन मास्कको प्रयोग सबैभन्दा राम्रो उपाय हो ।’ उनले भने, ‘वातावरण प्रदूषण बढेको छ, सबैले अनिवार्य मास्क लगाउनोस् ।’
उनले वायु प्रदूषणबाट जोगिन कार्यालय, घर वरिपरि सफा राख्न बताए। उनले वातावरणीय प्रदूषणसँगै घर भित्रको प्रदूषण काम गर्न आगो, कोइलाको प्रयोग कम गर्न बताए ।
बिहीबार काठमाडौँ विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको थियो। शुक्रबार बिहान १०ः२८ बजे मा काठमाडौँको विश्वको प्रदूषित सहर सूचांकको चौथो स्थानमा देखिएको हो । आईक्यूएयरका अनुसार सो समयमा काठमाडौँको वायु प्रदूषणको मात्रा १६५ आईक्यूआई छ ।
वायु प्रदूषण बढेसँगै वातावरण विभागले सावधानी अपनाउन आग्रह गरेको छ । विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धूलोको नियन्त्रण गरी सावधानी अपनाउन आग्रह गरेको हो ।
नेपालमा विशेषगरी मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने गरेको पाइन्छ । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्र लगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको पाइएको विभागले उल्लेख गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्