झापा,मंसिर १४ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा करोडौँ मूल्यका महत्त्वपूर्ण उपकरणहरू ‘ड्यामेज’ भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले विभिन्न ९ वटा अस्पतालमा १२० वटा त्यस्ता उपकरण ड्यामेज भएको जानकारी दिएका हुन् ।
उपर्युक्त जनशक्ति नहुँदै बजेटमा उपकरण खरिदमा बजेट विनियोजन गर्ने र सामान खरिद गर्दा कतिपय नयाँ मेसिन नचल्ने अवस्थामा रहेको उनले बताए । ‘मन्त्रालय र मातहतका कार्यालयहरूमा अर्बौंको सम्पत्ति ड्यामेज भएर राखिएको अवस्थामा भेटियो । यो अत्यन्तै गम्भीर कुरा हो,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई हामीले व्यवस्थित गर्न नसकेको उदाहरण हो । यस्ता उपकरणलाई सकभर मर्मत गरेर सञ्चालन हुने रहेछ भने हामी मर्मत सम्भार गर्ने पहल गर्छौं ।’
अब यस्तै खालका उपकरण अति आवश्यक बाहेक खरिद नगर्ने मन्त्री राईले प्रस्ट पारे । ‘ड्यामेज हुने उपकरण नयाँ पनि रहेको तर, जनशक्तिको अभावको कारण नचलिरहेको अवस्था छ,’ उनले भने, ‘त्यस्ता उपकरणलाई पनि हामीले चल्ने अस्पतालमा तानेर चलाउँछौँ । अहिले नचलाइ राखेका उपकरण नै फेरि खरिद गरिँदैन ।’
मन्त्रालयले बजेट विनियोजन गर्दा जनशक्तिलाई ध्यानमा राखेर उपकरण खरिद नगरेको मन्त्री राईले बताए । ‘यो बजेट विनियोजन गर्दा जनशक्तिलाई ख्याल गरेरमात्रै बजेट छुट्ट्याएको भए हुन्थ्यो । म बजेट विनियोजन गर्ने बेलामा मन्त्री थिइनँ । तर, अहिलेको बजेटमा छुट्ट्याएको बजेटबाट उपकरण खरिद गर्न रोकेको अवस्था छ ।’
मन्त्री राईले राज्यलाई अनावश्यक भार थप्न नहुने बताए । जनशक्ति छैन भने सामानमात्रै खरिद गरेर राज्यलाई लोड थप्नु नहुने उनको भनाइ थियो । ‘त्यस्ता उपकरण अब खरिद हुँदैन बरु बजेट काटिँदै जान्छ,’ उनले भने ।
यस्तै मन्त्रालयको औषधि खरिदमा पनि समस्या देखिएको मन्त्री राईले बताए । ‘हामीले बजेट असार १ गते ल्याउँछौँ । तर, आर्थिक वर्षको अन्त्य वैशाख, जेठ र असारमा औषधि खरिद गरेको देखियो । समयमै औषधि नपुगेर नागरिकहरू लाभान्वित नभएको भन्ने गुनासो आइरहेको थियो । त्यसको कारण यही रहेछ,’ मन्त्री राईले भने ।
तत्कालै ठेक्का सुरु गरेर समयमै औषधि खरिद गर्नतिर आफ्नो ध्यान जाने मन्त्री राईले बताए । औषधि खरिद गर्ने प्रक्रिया वा जुनसुकै काममा ढिलाइ गर्नुपर्ने कुनै पनि कारण छैन,’ उनले भने, ‘बजेट आइसकेपछि दुई महिना, तीन महिनाभित्र सबै प्रक्रिया टुङ्ग्याउन सक्ने व्यवस्था छ । अब औषधि खरिदको प्रक्रिया चाँडो टुङ्ग्याउन म पहल गर्छु ।’
चाँडै औषधि खरिद प्रक्रिया अगाडि बढ्ने मन्त्री राईको भनाइ छ । मन्त्रालय स्रोतले भने आर्थिक वर्षको अन्त्यमा ६ महिनामा म्याद गुज्रेका औषधि खरिद गर्दा ७० प्रतिशतभन्दा बढी कमिसन कर्मचारीलाई आउने गरेको कारण ढिलाइ गर्ने गरेको दाबी ग¥यो ।
‘आर्थिक वर्षको अन्त्यमा म्याद सकिन ६ महिना बाँकी रहेको औषधि खरिद गर्दा बढी कमिसन आउँछ,’ उक्त स्रोतले भन्यो, ‘समयमै खरिद गर्दा त कमिसन आउँदैन ।’
मन्त्रालयले दिएको विवरण अनुसार मन्त्रालय र मातहतका निकायमा अहिले पनि १२४ जना कर्मचारीको अभाव छ । अभाव भएका कर्मचारीको पदपूर्तिका लागि प्रदेशका मुख्यमन्त्री र लोकसेवा आयोगसँग छलफल गरेर तत्कालै प्रक्रिया अगाडि बढाउने मन्त्री राईले बताए ।
‘वास्तवमा स्वास्थ्य मन्त्रालय मातहतमा रहेको जनशक्तिमा ८० प्रतिशत अभाव देखियो । करारमा नियुक्ति गरेर केही पदहरूमा पदपूर्ति गरिएको छ । तर, प्राविधिक जनशक्तिको अभाव अत्यधिक देखियो,’ उनले भने, ‘यी पदहरूमा जनशक्ति आपूर्ति नभएसम्म सेवा प्रभावकारी हुन सक्दैन । यो हप्ताभित्रै बैठक बसेर पदपूर्तिको व्यवस्था मिलाउँछौँ ।’
मन्त्री राईले मन्त्रालयमा रहेको बेरुजुको विवरण पनि सार्वजनिक गरेका छन् । जसअनुसार असुल गर्नुपर्ने बेरुजु ३ करोड ५ लाख १ हजार ३२८ रुपैयाँ, नियमित गर्ने बेरुजु ३७ करोड ६२ लाख ७८ हजार ३ रुपैयाँ, पेस्की बेरुजु ७१ लाख ३३ हजार ६७४ रुपैयाँ गरी जम्मा बेरुजु ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ छ ।

कोशी प्रदेश मन्त्रालय मातहतमा २४ वटा अस्पताललाई सञ्चालनको स्वीकृति दिएको, तीमध्ये १४ वटाले नवीकरण गरेको र २३ वटा नयाँ अस्पतालले स्वीकृतिका लागि निवेदन दिएको मन्त्री राईले जानकारी दिए ।

मन्त्री राईले मन्त्रालय मातहतमा हाल १७ वटा एम्बुलेन्स, २ वटा शवबाहन, ४५ वटा गाडी, ११२ वटा मोटरसाइकल र १४ वटा स्कुटर रहेको जानकारी दिए । जसमध्ये ५ वटा एम्बुलेन्स, ५ वटा गाडी र ७ वटा मोटरसाइकल सञ्चालनमा नरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्