झापा , मंसिर १४ । झापाका विभिन्न पालिकाका महिला उपप्रमुखहरुले आफूहरु नै लैङ्गिक हिंसाको शिकार भएको बताएका छन् ।
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान संचालन भइरहँदा शुक्रवार मानव अधिकार सञ्जालद्वारा बिर्तामोडमा आयोजित लैङ्गिक हिंसाविरूद्धको कार्यक्रममा सहभागी महिला उपप्रमुखहरुले पुरुषहरु मात्र प्रमुख हुनुपर्ने र महिलालाई उपप्रमुखमा सीमित गरेर लैङ्गिक हिंसा गरिएको बताएका हुन् । उनीहरुले पालिका प्रमुखमा मात्र नभएर प्रमुख प्रशासकीय अधिकृतसमेत पुरुषलाई बनाएर महिला नेतृत्वमाथि नै हिंसा गरिरहेको बताए । पालिकाहरुमा एउटै रेंकिङका महिला र पुरुष कर्मचारीहरु हँुदा पुरुषहरुलाई नै रोजेर शाखा प्रमुख बनाउने गलत प्रवृत्तिसमेत रहेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले आफूहरु कार्यालयमा पस्दा पहिला नमस्कार गरेर छिर्ने व्यक्तिहरुमा परेको गुनासो गरिन् । ‘लैङ्गिक हिंसालाई महिला हिंसामा किन रुपान्तरण गरियो ? यो चुनौतिको विषय हो’ उनले भनिन् ,‘ हामी महिलाहरु आफ्ना अधिकारका बारेमा बुझ्यौ भने कार्यालयमा झुक्नु पर्दैन ।’ महिलासंग एउटै रेंकिङ भएका पुरुष कर्मचारीहरु नै पालिकामा शाखा प्रमुख हुनुपर्ने विषयलाई खोजी गरेर निरुत्साहित गर्नुपर्ने उनको भनाई छ ।
त्यस्तै झापा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाले पुरुष रहेका पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मिलेर महिला उपप्रमुखलाई थाहै नदिई कतिपय काम गर्ने गरेको गुनासो गरिन् ।‘ पालिका प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई बनाएर लैङ्गिक हिंसा भइरहेको छ ’ उनले भनिन्,‘ अब अर्को निर्वाचनमा सबै प्रमुख पदमा महिलाहरु उठ्नु पर्छ, पार्टी हेर्नु हुँदैन ।’
त्यस्तै दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले जहाँ जति शहरीकरण र समृद्धि छ , त्यहाँ त्यति धेरै लैङ्गिक हिंसा भइरहेको बताइन् । राजनैतिक , सामाजिक , आर्थिक , घरेलु जहाँ पनि महिलामाथि नै बढी हिंसा भइरहेको उनको भनाई थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली, भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की , शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की,हल्विारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको पनि सहभागिता रहेको थियो । उनीहरुले आफूहरुले हिंसा नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता जनाएका थिए । मुखले हिंसा गर्दिन भनेर होइन, व्यवहारले देखाउनु पर्ने उनीहरुको भनाई थियो ।
मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डाक्टर रूपक खनालको अध्यक्षतामा भउको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला रहेका थिए । कार्यक्रममा अधिवक्ता कविता बास्तोला पाठकले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा झापा बारका उपाध्यक्ष अधिवक्ता भिम वराल, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विद्यासागर मेहतालगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालक रञ्जन धमलाले गरेका थिए ।