झापा , मंसिर १५ । ललितपुरको महांकाल गाउँपालिका–२, मानिखेल स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएका एक व्यवसायी झापाबाट सम्पर्कविहीन भएका छन् ।

घरजग्गा कारोबारमा संलग्न व्यवसायी ४० वर्षीय दिलनाथ बजगाईँ गत कात्तिक २९ गतेदेखि सम्पर्कविहीन भएको परिवारले जनाएको छ । बजगाईँ व्यापारको सिलसिलामा काँकडभिट्टास्थित न्यू हिकोला हेरिटेज होटलमा बस्दै आएका थिए ।
गत कात्तिक २९ गते श्रीमती तुलसासँग फेसबुकमा कुरा गरेका उनी त्यसपछि सम्पर्कविहीन छन् । उनको खोजबिनका लागि श्रीमती तुलसा र दाजु गणेशप्रसाद मंसिर ४ गतेदेखि काँकडभिट्टामा छन् ।

व्यवसायी बजगाईँले कात्तिक ३० गते भारतको गोवा जाने हवाई टिकट काटेका थिए । तर, उनी गोवातिर गएको देखिँदैन । किनकि उनको टिकट क्यान्सिल देखिन्छ । टिकट क्यान्सिल गरेर उनी कता गए भनेर परिवार अचम्ममा परेका छन् ।

बजगाईं बेपत्ताबारे परिवारले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा निवेदन दिएका छन् । प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ ।इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी मीमबहादुर लामाले गहिरो ढंगले अनुसन्धान गरिरहेको र सत्य–तथ्य चाँडै बाहिर ल्याउने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्