बिनोद सापकोटा,
झापा । ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं ’भन्ने मूल नाराका साथ आइतबार ३७ औँ विश्व एचआईभी एड्स दिवस झापामा मनाइएको छ । अर्जुनधारामा प्रभातफेरी र कोण सभा गरी एड्स दिवस मनाइएको हो।


स्वास्थ्य कार्यालय झापाको आयोजनामा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीले अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार परिक्रमा गरेको थियो ।

विभिन्न प्रकारका प्लेकार्ड र ब्यानरसहित निस्किएको प्रभातफेरी नगरपालिका परिसरबाट सुरु भएको थियो । प्रभातफेरी शनिश्चरे बजार पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै अधिकांश वक्ताले एचआइभी एड्सको जोखिम न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । एचआइभी एड्सजस्ता घातक रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि सरकारले करोडौँ रुपैयाँ खर्च गरिरहेको छ । एचआइभी एड्स नियन्त्रणका हरेक सरकारी तथा गैरसरकारी कार्यक्रममा सहभागी भएर त्यसको फाइदा लिन वक्ताले सबैलाई आग्रह गरे।

कोणसभामा एचएफ नेपालका एआरटी क्लिनिक अफिसर निकेश आचार्य, शनिश्चरे माध्यमिक विद्यालयकी स्काउट शिक्षक तारा विश्वकर्मा, लवकुश आश्रमका अध्यक्ष रन्जु शर्मा, मेची प्रादेशिक अस्पताल एआरटी शाखाका कञ्चन नेपाली लगायतले बोलेका थिए।

कार्यक्रम ए.एच.एफ नेपाल, आम्दा नेपाल, लवकुश आश्रम, आरफएमको सहकार्यमा स्वास्थ्य कार्यालय झापाले आयोजना गरेको हो। एचएफ नेपालका एआरटी क्लिनिक अफिसर निकेश आचार्यका अनुसार झापामा १५००को हाराहारीमा एचआइभी संक्रमित छन् । तीमध्ये ७०० ले नियमित औषधि सेवन गरिरहेका छन् ।

झापाको मेची प्रादेशिक अस्पताल मात्र ४८८ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । यो संख्यामा १७ बालबालिका पनि रहेको आचार्यले बताए । एचआइभी एड्स संक्रमित हुनेमा पुरुषको संख्या बढी छ।

अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा बिहानको प्रभातफेरीपछि साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरेर ३७औ विश्व एड्स दिवस मनाइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्