झापा, मंसिर १७ । विगत तीन वर्षदेखि झापाको अर्जुनधारा– ६ मा संचालन भइरहेको झापाको एकमात्र ललिपप उद्योग द एभरेस्ट मिठाई उद्योगका बारेमा नकारात्मक प्रचार गरिएको संचालकले बताएका छन् ।
तीन दिनयता केही फेसबुक पेजमा द एभरेस्ट मिठाई उद्योगले उत्पादन गरेको अधिकतम् खुद्रा मूल्य ६० रुपैयाँ पर्ने दालिब इलामेली ललिपपमा धारिलो फलाम वा अन्य धातुको टुक्रा फेला परेको भनी गरिएको भ्रमपूर्ण प्रचारप्रति आफ्नो ध्यानाकर्षण भएको संचालक डीबी बस्नेतले बताएका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तस्वीरमा ललिपपभित्र (प्याकेटभित्र होइन) पेपरकटर ब्लेडजस्तो देखाइएको छ । ललिपप उत्पादन प्रयोजनका लागि आफ्नो उद्योगमा यस प्रकारका ब्लेड वा फलामजन्य कुनै पनि धातु प्रयोग नहुने बस्नेतले स्पष्ट पारेका छन् । ललिपपभित्र त्यति ठूलो फलामको टुक्रा वा ब्लेड भेटिएको भनी गरिएको प्रचार आफैंमा नियोजित भएको भन्दै उनले ललिपपभित्र फोटोमा देखाएजस्तो फलाम वा ब्लेंड अट्न सम्भव नरहेकोसमेत स्पष्ट पारेका छन् । ‘हाम्रो उत्पादन पूर्णतः हातले बनाइन्छ । यस्तो अवस्थामा फलाम वा ब्लेड हातमा लाग्छ । त्यतिबेलै थाहा हुन्छ ’ उनले पत्रकारहरुसंग भने,‘आयुष गिरी नामबाट विभिन्न सामाजिक सञ्जालमा गरिएको पोस्टले पनि हामीमाथि नियोजित प्रचार गरिएको प्रष्ट छ ।’
यसअघि पनि दालिव इलामेली ललिपप डुप्लिकेट भन्ने हल्ला फैलाउने प्रयास गरिएको थियो । आफ्नो उत्पादनको लोकप्रियता देखेर आत्तिएको स्वार्थ समूहले निरन्तर भ्रम सिर्जना गर्दै आएको बस्नेतले दावी गरे । आफ्ना उत्पादनलाई गुणस्तरीय बनाउन सँधैं संवेदनशील र गम्भीर रहेको भन्दै बस्नेतले आमउपभोक्तालाई भ्रममा नपर्न सार्वजनिक रुपमा अपिल गरेका छन् । बस्नेतले अर्जुनधारा ६ मा दुईवटा उद्योग संचालन गर्दै आएका छन् । हाम्रो कोसेली घर प्याकेजिङ उद्योगले चिया प्याकेजिङ गरी बिक्री गर्दै आएको छ भने द एभरेस्ट मिठाई उद्योगले दालिब इलामेली ललिपप उत्पादन गर्ने गरेको छ ।
झापामा एउटा मात्र ललिपप उद्योग रहेको छ भने इलाममा करिव १० वटा उद्योग रहेका छन् । बस्नेतले उत्पादन गरेका ललिपप झापासंगै इलाममा बिक्री हुने गरेको छ ।