झापा,मंसिर १८ । मोरङको बेलबारीमा कोशी प्रदेशका १३७ पालिकाका सभापतिहरूको प्रादेशिकको भेला सुरु भएको छ । भेलाको दोस्रो दिन मङ्गलबार बिहान सभापतिहरू बेलबारीमा शान्ति पदयात्रा गरेका छन् ।
बिहान कार्यक्रममा सहभागि ५३ जना सभापति सहित स्थानीय काङ्ग्रेस नेताहरूले बेलबारीको लोहोन्द्रा देखि बेतना सिमसारसम्म शान्ति पैदल यात्रा गरेका छन् । बेतना सिमसारमा स्थानीय खाजा (भक्का, सेलरोटी र तरकारी) खाएर सहभागिहरू बेलबारी ३ स्थित ड्रिमलेण्ड होटलमा तीन घण्टाको प्रशिक्षण कार्यक्रम सहभागि भएका छन् ।
प्रदेशका १३७ जना गाउँ,नगर, उपमहानगर र महानगर सभापतिहरूको उपस्थिति रहने बताइएको भेलाले मुख्यत १४ औं महाधिवेशन पछिका अनुभव साटासाटलाई प्रमुख कार्यसूचीमा राखेको छ । सँगसँगै सभापतिहरूको भेलाले कोशी प्रदेशको नामाकरणका विषयमा पार्टीको आधिकारिक धारणा माग गर्ने भएको छ ।
बेलबारी सभापति लिम्बूले पार्टीले राजनीतिक नियुक्ति गर्दा गाउँ नगरसँग समन्वय गर्नुपर्ने, स्थानीय पालिकासँग समन्वय नगरीकन केन्द्रीय र प्रदेशका नेताहरू जथाभावि कार्यक्रम राख्दै हिड्ने बेतिथिलाई अन्त्य गर्न भेलाले दिशा निर्देशन गर्ने जानकारी दिए । उनले यो गुटको भेला नभएर प्रदेश भरिका सभापतिहरूको अनुभव साटासाट गर्ने कार्यक्रम भएको बताए । भेलाले १५ औं महाधिवेशन निर्धारित समयमा नै गर्न पार्टी नेतृत्वलाई दबाब दिने भएको छ ।
कार्यक्रम आयोजक समिति सचिवालयका संयोजक राजेन्द्रबहादुर अधिकारीले झापा, मोरङ र सुनसरीका सभापतिहरू समेत बेलबारी आइपुगेको बताए । कतिपय सभापतिहरू सिंधै विराटनगर पुग्ने अधिकारीको भनाइ छ । विराटनगरमा काङ्ग्रेस केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यले सम्बोधन गर्ने तयारी भइरहेको छ ।