झापा, मंसिर १९ । सुख्खायाम शुरु हुनेबित्तिकै झापामा आगलागीका घटना बढ्न थालेको छ ।
करिव एक साताको अवधिमा जिल्लामा एक दर्जन आगलागीका घटना भएको प्रहरीले जनाएको छ । मंसिर १५ गते एकैदिन तीन ठाउँमा आगलागी भएको थियो । जिल्लामा प्रत्येक दिन लगातार आगलागी हुँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
गएराति गौरादहमा आगलागी हुँदा ६ वटा चौपाया जलेर मर्नुका साथै १५ लाखबराबरको क्षति भएको छ ।राति ११.४५ बजे गौरादह नगरपालिका वडा न.४ डोरामारी बस्ने खड्गबहादुर कार्कीको जस्ताको छानो, सिमेन्टको पिलर भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो । आगलागीबाट ग्वालीमा भएका खसी एउटा, माउबाख्रा एउटा, पाठापाठी ३ वटा, गाईको बाच्छी जलेर मरेका छन् ।
त्यस्तै एउटा गाई जलेर घाइते भएको छ । ग्वालीमा रहेको को १९ प ४४९८, को १९ प ६६७८ नम्बरको मोटरसाइकल, अन्नपात पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी १५ लाख मूल्यबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मंसिर १७ गते राति कन्काईमा आगलागी भएको छ ।राति ८.१० बजेतिर कन्काई– ३ बस्ने तिला पाठकको घर छेउको परालको कुन्यूमा अचानक आगलागी भएको हो ।
त्यस्तै मंसिर १५ गते तीन ठाउँमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो । दमक , अर्जुनधारा र झापा गाउँपालिकामा आगलागी भएको हो । राति १२.१५ बजे दमक नगरपालिका वडा नम्बर १ रवि स्टेन्ड बस्ने शिव राईको अढाई तले घरको भुइँतलामा किराना ,कस्मेटिक र खाद्यान्न पसल संचालन गरेका ४३ वर्षीय रामकिशोर साहको पसलमा आगलागी भएको हो । विद्युत सर्ट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सरसामानसमेत जलेर नष्ट हुँदा अन्दाजी १५ लाखबराबरको क्षति भएको छ ।
त्यस्तै १५ गते साँझ ६ः४५ बजे झापा गाउँपालिका वडा नं. ७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा आगलागी भएको छ । बिद्युत लाईन सर्ट भई आगलागी हुँदा हस्दाको टिनको छानो र बाँसको टाटी बेराले बनेको ३ कोठे घरमा रहेका सम्पूर्ण सामान र नजिकै रहेको ग्वालीसमेत पूर्णरुपमा जल्दा अन्दाजी २ लाख ५० हजारबराबरको क्षति भएको जनाइएको छ ।
त्यस्तै राति १० बजे अर्जुनधारा नगरपालिका वडा नं.११ सालबारी बस्ने ४७ वर्षीय भूमिनाथ बराल र सोही ठाउँ बस्ने अमर राउतको एक बिगाह धानको कुन्यूमा अचानक आगलागी भएको छ ।
त्यस्तै मंसिर १४ गते कचनकवल र शिवसताक्षीमा आगलागी हुँदा ठूलो क्षति भएको थियो ।
दिउँसो २ः१५ बजे कचनकवल– ६ बनियानीको हुकाहुकी चोकमा सत्यनारायण र हेमनारायण राजवंशीको घरमा भाडा लिई केशव राजवंशीले संचालन गरिरहेको त्यारी राजवंशी होटलमा अचानक ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको थियो । आगलागीबाट चारवटा पसलमा क्षति पुगेको थियो ।
त्यस्तै मंसिर १४ गते बिहान शिवसताक्षी २ स्थित ७ नं. चौकमा ७६ वर्षीय रुद्रमणि भन्ने कृष्णमणि घिमिरेको गोठमा आगलागी भएको थियो । टिनको छानो, बाँसको टाटी बेरा भएको गोठमा बिजुलीको तार सर्ट भई हुन सक्ने आगलागीबाट उक्त गोठ, नजिकै रहेको १ बिगाह परालको कुन्यू जलेर नष्ट भएको छ । उक्त आगो निभाउने क्रममा घरधनी घिमिरे घाइते भएका थिए ।
त्यस्तै मंसिर १३ गते गौरीगञ्जमा आगलागी भएको थियो । साँझ ६ बजेतिर भएको आगलागीबाट गौरीगञ्ज –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली र भान्सा जलेर नष्ट भएको छ ।
त्यस्तै मंसिर ९ गते बिर्तामोड नगरपालिका –६ मा आगलागी हुँदा एउटा टिपर जलेको छ ।राति १ः४० बजे बिर्तामोड नगरपालिका वडा न.६ मसाले टोल बस्ने अर्जुन थलानको परालको थुप्रोमा अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा.०३–००१ क ०३३१ नम्बरको टिपरमा समेत आगलागी भएको थियो । सोही साँझ बिर्तामोड नगरपालिका– ६ बुट्टावारीस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको थियो ।
आशिष वनको घरको सटरमा अर्जुनधारा ११ बस्ने दिपक राजवंशीले भाडामा लिई सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा साँझ ६.४० बजे बिद्युत सर्ट भएर आगलागी भएको थियो । सुख्खा मौसममा आगलागी हुनसक्ने खतरा भएकाले सावधान रहन डीएसपी चन्दले आग्रह गरेका छन् ।