झापा , मंसिर २२ । झापाको बिर्तामोडमा रहेको सनलाइट इन्भेस्टमेन्ट प्रालिले आफ्नो आठौं साधारण सभा शनिबार सम्पन्न गरेको छ।
कम्पनीको परिसर चारआलीमा सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०८०÷८१ मा १० करोड ४ लाख रुपैयाँ बराबरको कारोबार गरेको जानकारी दिइएको छ। प्रालिले पूर्व क्षेत्रमा सिसा र सिसाजन्य वस्तुहरूको थोक कारोबार गर्दै आएको छ।
सनलाइट इन्भेस्टमेन्ट प्रालिका अध्यक्ष पदम भट्टराईको अध्यक्षतामा सम्पन्न साधारण सभामा यस आर्थिक वर्षमा ३७ लाख ५० हजार रुपैयाँभन्दा बढी नाफा कमाएको जानकारी दिइएको छ।
झापाका लब्धप्रतिष्ठित उद्योगी व्यवसायी तथा कर्मचारीहरूले मिलेर विगत आठ वर्ष अगाडि उक्त कम्पनी स्थापना गरेका थिए। कम्पनीले साविक मेची अञ्चलका सम्पूर्ण क्षेत्र तथा मोरङ जिल्लाका पूर्वी भागमा सिसाजन्य वस्तुहरूको कारोबार गर्दै आएको छ। साधारण सभामा प्रालिका अध्यक्ष पदम भट्टराईले वार्षिक प्रतिवेदन, सञ्चालक समितिका सचिव युवराज निरौलाले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक भरतकुमार भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले संस्थाको शेयर पूँजी ७ करोड ४७ लाख १६ हजार २५० रुपैयाँ रहेको जानकारी दिए । कम्पनीले आगामी दिनमा आफ्नो व्यापारलाई विस्तार गर्ने र शेयर पुँजीलाई १० करोड पुर्याउने योजना रहेको उनले बताए हाल उक्त प्रालिमा ६३ जना शेयर सदस्य रहेका छन्। साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले कम्पनीहरूले पालना गर्नुपर्ने कानुनी प्रावधानहरूका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा कम्पनीका सल्लाहकार सदस्य मोहन शिवाकोटी, युवराज पाण्डे र सदस्य रिङकुमार आचार्यलगायतले प्रालिको कारोबार र व्यवस्थापनको विषयमा आआफ्नो सुझाव राखेका थिए । सञ्चालक समितिका सदस्य तुलसीनाथ पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।