झापा, मंसिर २३ । हरेक क्षेत्रमा पछि परेका पूर्वी तराईका भूमिपुत्र राजवंशी जातिलाई संस्कार संस्कृति जोगाउनै गाह्रो भएको छ ।
भूमिपतिबाट भूमिहीन बन्दै गएका उनीहरुलाई आर्थिक अभावमा संस्कार संस्कृतिसंगै अस्तित्व जोगाउन समस्या भएको हो । राजवंशी समाज विकास समिति झापाको वार्षिक साधारण सभामा प्रस्तुत आर्थिक प्रतिवेदनलाई हेर्दा आदिवासी राजवंशीहरुले ऋण काढेर कार्यक्रम गर्ने गरेको पाइएको छ । संस्कार संस्कृति जोगाउनका लागि राज्यबाट सहयोग नपाएपछि उनीहरुले ऋण काढेर कार्यक्रम गरेका हुन् ।
हिजो भद्रपुरमा आयोजित राजवंशी समाज विकास समितिको वार्षिक साधारण सभामा कोषाध्यक्ष बसन्ती राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २०८० सालमा विभिन्न कार्यक्रम गर्दा जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशीले १ लाख ३४ हजार ८१७ र सचिव सोहनलाल राजवंशीले ६ हजार १५० रुपैयाँ गोजीबाट खर्च गरेको जानकारी दिइन् । त्यस्तै ८१ हजार ८७२ रुपैयाँ नोक्सान लागेको प्रतिवेदनमा उल्लेख छ । राजवंशी समाज विकास समितिले सिरुवा कार्यक्रम , भाक्का दिवस ,चिलाराय दिवस,कवड्डी खेलाडी सम्मान, दधिकाद कार्यक्रम , प्रदेशका राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई सम्मानलगायतका कार्यक्रम गरेको थियो ।
जातीय उत्थानका लागि सबै आदिवासी जातजातिले जातीय संस्था खोलेका छन् । पछाडि परेका प्रायः सबै जातिका जातीय संस्थाहरु आर्थिक अभावकै कारण निश्क्रिय छन् । ‘संस्था खोलेपछि कार्यक्रम गर्नैपर्यो, आर्थिक सहयोग खासै पाइदैन’ राजवंशी समाज विकास समिति झापाका सचिव सोहनलाल राजवंशीले भने,‘ऋण नखोजी उपाय नै छैन ।’
राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष सुवन्त राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशी , राजवंशी समाज विकास समिति गौरीगञ्जका अध्यक्ष गोपाल राजवंशी , बिर्तामोड अध्यक्ष सिरतलाल राजवंशी ,बाह्रदशी अध्यक्ष हेम राजवंशीलगायतले बोलेका थिए । त्यस अवसरमा थाइल्यान्डमा सुन्दरी प्रतियोगिता जितेकी मनिशा राजवंशीलाई सम्मान गरिएको थियो । जिल्ला उपाध्यक्ष जितलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सोहनलाल राजवंशीले गरेका थिए ।