झापा , मंसिर २३ । नेपाल तामाङ घेदुङले बिर्तामोड पर्यटन महोत्सव समापन गरेको भोलिपल्ट बिर्तामोड उद्योग वाणिज्य संघले ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना गर्ने निर्णय गरेको छ ।

गत मंसिर १ देखि मंसिर २२ गतेसम्म बिर्तामोड पर्यटन महोत्सव संचालन भएको थियो भने बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ गर्ने तयारी थालिएको हो ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी वस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले महोत्सवका लागि मूल समारोह समिति गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छन् । मूल समारोह समितिले महोत्सव स्थल चयनलगायतका अन्य काम गर्ने बताइएको छ ।

महोत्सवमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तानका व्यवसायीहरुको सहभागिता रहने छ । त्यस्तै स्थानीय , राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।
बालउद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने बताईएको छ ।

सुस्ताएको अर्थतन्त्रलाई केही हदसम्म भएपनि सुदृढ र चलायमान बनाउन यो महोत्सवले सघाउ पुग्ने महासंघका महासचिव कुशल खतिवडाले बताए । यसअघि २०७९ फागुन ५ मा बिर्तामोड उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्