झापा, मंसिर २५ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले यहाँ एक वर्षमा १४८ मानवअधिकार तथा ज्यादतीका घटना भएको जनाएको छ । मानवअधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेकले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले जिल्लामा सन् २०२४ को जनवरीदेखि नोभेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको अभिलेखीकरणअनुसार बलात्कारका ७४ वटा, बलात्कार प्रयास १४, मानव बेचबिखन तथा ओसार पसारका तीन, बहुविवाह २५, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुरुपयोगका दश, हत्याका १२, घरेलु हिंसा मुद्दाका ११ गरी १४८ वटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरे ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्ला अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक प्रतिनिधिले अभिलेखीकरण गरेका १४८ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि छलफल गरिएको छ । सो अवधिमा अभिलेखीकर गरिएका सामाजिक तथा सांस्कृतिक अधिकारका एक, सरकारी कार्यालयमा तोडफोड दुई र सार्वजनिक बसमा क्षतिको घटना एक वटा अभिलेखीकरण गरिएको छ ।