द्रोण अधिकारी,
भद्रपुर । झापा सदरमुकाम भद्रपुरमा वर्षौंदेखि अलपत्र छाडिएका दुई महत्वपूर्ण संरचना निर्माण सम्पन्न गर्न माग गर्दै भद्रपुर नगरपालिकाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
अलपत्र गिरिजाप्रसाद कोइराला स्मृति भवन र अरनिको माविको भवनको निर्माण रोकिएको डेढ दशक भइसकेको भन्दै कानुनी प्रकृया मिलाएर ती भवन निर्माण सम्पन्न गराउन ध्यानाकर्षण गर्दै नगर प्रमुख गणेश पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । संघीय गणतन्त्र नेपालको प्रतीकका रूपमा कोशी प्रदेशकै ठूलो सभाहलसहित बहुउपयोगी भवनको अवधारणा लिएर भण्डै एक दशकयता निर्माण कार्य थालनी भएको गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माण रोकिएर अलपत्र बनेको पनि ६ वर्ष पूरा भएको छ ।
भद्रपुर ८ को मेची रंगशाला पश्चिममा रहेको झापा जिल्लाकै गौरवको आयोजना भनिएको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण कार्य ९ वर्ष अगाडि थालिएपनि निर्माण सम्पन्न गर्ने मिति समेत गुज्रिएर अलपत्र परेको छ ।
२०७२ साल असार २८ मा तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशिल कोइराला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन सांसद कृष्णप्रसाद सिटौला, तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भव्य समारोहकाबीच संयुक्तरूपमा जीपी भवनको शिलान्यास गरेका थिए । सोही तथ्यलाई सम्झाउँदै नगरपालिकाले प्रधानमन्त्री झापा आएको बेला कानूनी जटिलता भए हटाइदिएर निर्माण सम्पन्नको वातावरण बनाइदिन माग गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेट र तत्कालीन जिल्ला विकास समिति (हाल जिसस) को स्वामित्वमा भवन बन्न सुरु भएको थियो ।
प्रेरा–शाह जेभी निर्माण कम्पनीले १२ करोड ७२ लाख ६९ हजार रूपैयाँको लागतमा भवन निर्माणको ठेक्का लिएको थियो । दुई वर्षभित्र अर्थात् २०७४ असोज २८ गतेसम्म भवनको काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । निर्माणाधीन भवनको लम्बाई ५३ मिटर र चौडाइ ३४ मिटर रहेको छ ।
सो भवनको पहिलो तलामा व्यावसायिक उद्देश्यका लागि २७ वटा सटर निर्माण गरिनेछ । त्यस्तै दोस्रो तलामा दुई वा तीन वटा बैंक अटाउने फ्ल्याट र तेस्रो तलामा एक हजार जना अटाउने क्षमताको अत्याधुनिक सभाहल बनाइने गरी प्लानिङ गरिएको छ । जसमा ९६ वटा पिलर रहेका छन् भने प्रत्येक पिलर दुई फिट दुई इन्चको वर्गाकारमा फैलिएको छ । नौ वर्षको अवधिमा निर्माण कम्पनीले तीन तलाको फाउन्डेसन उठाएर त्यत्तिकै छाडिदिएको छ भने भवन निर्माणको काम बन्द भएको पनि ६ वर्ष पूरा भइसकेको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलले करिब ९ करोड रुपैयाँ खर्च भइसकेर पनि जीपी भवनले पूर्णता पाउन नसक्नु दुःखद भएको अवगत गराउँदै प्रधानमन्त्री ओलीलाई आफ्नो नगरमा अलपत्र परेको यो भवनको पूर्णताका लागि आफूले पदभार सम्हालेयता लगातार पहल गर्दै आएको तर, उपलब्धी हासिल हुन नसकेको जानकारी दिए । उनले कुनै बाधा–अड्चन भए सरकारले तत्काल निर्णय गरेर ती अड्चन फुकाएर यथाशीघ्र भवन निर्माण गर्नेतर्फ सोचिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
यस्तै साविक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका ३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएकै भवनमा विद्यार्थी वर्षौंदेखि जोखिम मोल्दै पठनपाठन गर्न बाध्य छन् । ३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेको पनि वर्षौ भयो । तत्कालीन जिल्ला विकास समितिको मातहतमा निर्माण थालनी भएको भवन निर्माणको स्वामित्व विवाद समेतका कारण भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन । खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न बाध्य छन् । विद्यालयले १४ वर्षयता सुविधासम्पन्न भवनको आशमा कष्ठकर पठनपाठन गरिहेको छ । भारतीय दूतावासको आर्थिक सहयोगमा सुविधासम्पन्न भवन बन्ने आश देखाइएपछि २०६७ सालमा काठेभवन हटाएर पक्की भवन निर्माण थालिएको विद्यालय निर्माण अलपत्र पर्दा कष्टकर पठनपाठन भइरहेको छ ।
२०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएर करिव चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम सुरु गरेपनि बिचमा काम अलपत्र छाडेपछि समय गुज्रिएर म्याद थप भएको छैन । २०७४ सालदेखि भवन निर्माण खातामा १५ लाख जति रकम भुक्तानी नभइ बसिरहेको छ ।