झापा,मंसिर २६ । चिनी उद्यमीले नेपालमा अवैध चिनी आयातका कारण आफूहरू सङ्कटमा पर्दै गएको बताएका छन् । नेपाल चिनी उद्योग सङ्घले पत्रकार सम्मेलन गरी चिनी उत्पादनको सिजनमा समेत बिक्री गर्न नसकिएको जनाएको छ ।
सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले अनधिकृत र अनियन्त्रित चोरीपैठारीका कारण आफ्ना उद्योगको चिनी नबिकेको भन्दै अवस्था यस्तै रहे उखु किसानलाई भुक्तान गर्न समस्या पर्ने औँल्याए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुन्छ । गत आव २०८०÷८१ मा एक लाख ७८ हजार मेट्रिक टन चिनी नेपालभित्रै उत्पादन भएको थियो भने २० हजार मेट्रिक टन औपचारिक माध्यमबाट आयात भएको थियो । बाँकी करिब ५० हजार मेट्रिक टन अवैध आयात भएको आकलन उद्योगीको छ ।
नेपालमा भन्दा भारतमा प्रतिकेजी करिब १५ रुपियाँ सस्तो पर्ने र अवैध आयात गर्दा करसमेत नतिर्ने हुँदा अवैध आयात फस्टाएको अग्रवालले बताए ।
“सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा राज्य संरचनाले यसमा ध्यान दिएर तस्करी रोक्नु आवश्यक छ,” अग्रवालले भने, “हाम्रो चिनी यही कारण अहिले बिकिरहेको छैन । यो अवस्थामा किसानलाई भुक्तान गर्ने रकमसमेत प्राप्त नहुने खतरा छ ।”

सङ्घका अनुसार गत वर्षको करिब पाँच हजार मेट्रिक टन चिनी पनि उद्योगीसँग मौज्दात नै छ । अग्रवालले नेपाल भारत सीमा क्षेत्रमा साइकल तथा स्कुटर प्रयोग गरी अवैध रूपमा चिनी ल्याएर भण्डारण गर्ने क्रम जारी रहेको सूचना आफूले पाएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्