झापा,मंसिर २६ । भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै आएका दुई विदेशी हवाई कम्पनीले एक महिना उडान रोक्ने तयारी गरेका छन् । बाक्लो हुस्सुका कारण जहाज उडान अवतरणका लागि आवश्यक दृश्य क्षमता (भिजिबिलिटी) नपुगेपछि फ्लाई दुबई र थाई एयर एसियाले मंसिर १५ देखि पुस १५ गतेसम्म उडान रोक्ने तयारी गरेका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, “भैरहवामा उडान र अवतरण गर्दा हुस्सुका कारण समस्या भएको भन्दै थाई एयर एसिया र फ्लाई दुबईले एक महिना उडान स्थगित गर्नेबारे प्राधिकरणलाई जानकारी गराएका छन् । प्राधिकरणले उडान समय परिर्वतन गराएर भए पनि भैरहवामा उडानलाई निरन्तरता दिनेबारे छलफल जारी राखे पनि निष्कर्षमा पुग्न सकिएको छैन ।”
मौसमका कारण भैरहवामा जहाज अवतरण हुन नसकेपछि आकाशमै होल्ड हुने, जहाज काठमाडौँ ‘डाइभर्ट’ हुँदा यहाँको ट्राफिक जाम बढ्नुका साथै उडान सञ्चालन खर्चसमेत बढ्ने अवस्था आएपछि प्राधिकरणले वायु सेवा कम्पनीका प्रतिनिधिसँग छलफल जारी राखेको उनले बताए ।
भैरहवामा उडान अवतरणका लागि १८ सय मिटर ‘भिजिबिलिटी’ आवश्यक पर्ने भए पनि हाल त्यहाँ मुस्किलले एक हजार मिटर मात्रै ‘भिजिबिलिटी’ हुन थालेपछि उडान अवतरणमा समस्या आएको उनको भनाइ छ । भैरहवा विमान स्थलमा भूउपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) बाट स्वीकृति लिने प्रक्रियामा रहेको उनको भनाइ छ । अहिले भैरहवामा भिओआरडिएमी एप्रोचबाट विमान उडान तथा अवतरण भइरहेका छन् ।
यसैबिच बाक्लो हुस्सुका कारण तराई भेगका अधिकांश विमानस्थलमा हुँदै आएका आन्तरिक उडानसमेत प्रभावित हुन थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मङ्गलबार विराटनगर, जनकपुर विमानस्थल, भद्रपुर, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उडान प्रभावति भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्