झापा,मंसिर ३० । इलामको सूर्योदय नगरपालिका ११ को पूर्णेडाँडामा लाग्दै आएको ऐतिहासिक झ्याम्टे मेला सुरु भएको छ । प्रत्येक वर्ष मंसिरे पूर्णिमा र वैशाखे पूर्णिमाका दिन लाग्दै आएको मेला आइतबारबाट सुरु भएको हो ।

राई संस्कृतिसँग जोडिएको झयाम्टे मेला पूर्णेडाँडामा खलङ्गा स्थापना भएपछि बडाहाकिम आएपछि उनको मनोरञ्जनका लागि मेला लाग्नेछ । बडाहाकिमलाई विभिन्न जातको संस्कृति देखाउने क्रममा राई जातिको सांस्कृतिक साकेला नृत्य प्रदर्शन गर्ने क्रममा झ्याम्टासहित सहभागी हुने राईहरूको नृत्य धेरैले मन पराएपछि झ्याम्टे मेला लाग्न सुरु भएको स्थानीय झप अधिकारीले जानकारी दिए।

उनका अनुसार मनोरञ्जनका कुनै साधन नभएको बेला नेपाल र छिमेकी भारतका मानिस भेला भएर मेलाको बहानामा रमाइलो गर्ने परम्परा बसेको थियो । अधिकारीले भने, ‘‘राई जातिको साकेला नाच, लिम्बू जातिको धाननाच नाचेर मेलाबाटै केटी तानेर लाने परम्परा थियो, तानेर लगेपछि आधिकारिक विवाह भएको मानिन्थ्यो ।’’

झ्याम्टे मेला व्यवस्थापन समितिले अहिले मेलालाई अलि परिस्कृत गरेको छ । मेला आयोजक समितिका अध्यक्ष असेर राईका अनुसार अहिले स्थानीय खानाका परिकारका स्टल राखिएको छ । मेलामा स्थानीय कलाकारले साङ्गीतिक कार्यक्रम र साकेला नृत्य आयोजना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्