झापा, मंसिर ३० । मोरङमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिक रहेको प्रहरीले जनाएको छ ।
गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका– २ झोराहाट चौकस्थित घिनाघाट सडकखण्डमा विराटनगरबाट विराट चौकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर नहरको पुलमा ठोक्किएको थियो ।
घटनामा दुवै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै सुनसरी रामधुनी नगरपालिका–९ डुम्राहामा प्रदेश न. १–०२–००४ ह १४८१ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालकको मृत्यु भएको छ ।
हिजो साँझ खेतबाट सिटी सफारीमा धान ओसार्ने क्रममा दुर्घटना हँदा घाइते भएका सिटी चालक स्थानीय ५० बर्षीय पुरण चौधरीलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट कानुनी कारबाही भइरहेको जनाइएको छ ।