झापा, पुष २ । झापा र मोरङमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।

हिजो दिउँसो ४ः३० बजे मेचीनगर –६ पुरानो मेची पुलमा २ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका वडा न.२ बस्ने २१ वर्षीय प्रजित तामाङ पक्राउ परेका हुन् । शंका लागेर चेकजाँच गर्दा उनले मुखमा राखी लुकाई ल्याउँदैं गरेको अबस्थामा फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै हिजो दिउँसो ३.१० बजे मोरङ रंगेली नगरपालिका ७ शुक्रबारेस्थित इसान्त फार्मेसीका संचालक १ वर्षीय संजयकुमार मण्डल लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको टोली तथा लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले छापा मार्दा उक्त फार्मेसीबाट ट्रामाडोल ५,३०० क्याप्सुल, स्पास्पेन २,००० ट्याब्लेट र डाइसे १३,६०० ट्याब्लेट बरामद भएको थियो । मण्डललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ ।
त्यस्तै हिजो दिउँसो ४.२० बजे रंगेली नगरपालिका–५ स्थित आँमगाछीबाट झुंगिटोलतर्फ जाँदै गरेको को ७ प ६६४६ नम्बरको मोटरसाइकललाई रंगेलीबाट खटिएको प्रहरी टोली र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा लागूऔषधसहित चालक रंगेली –५ बस्ने २७ वर्षीय धिरजकुमार झा पक्राउ परेका थिए । उनको साथबाट ११ ग्राम १४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । झालाई मोटरसाइकलसहित इलाका प्रहरी रंगेलीको नियन्त्रणमा राखिएको छ ।