झापा, पुष २ । औषधि व्यवसायी , लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष एवम् रिभर साइड युथ फाउण्डेशनका उपाध्यक्ष रहेका प्रदीप खरेलले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् ।

व्यवसायीको हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’ का लागि २१ हजार एक रुपैयाँ सहयोग गर्दै खरेलले आफ्नो जन्मदिन संघको कार्यालयमा मनाएका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
सहयोग प्रदान गर्न श्रीमती पवित्रादेवी शिवाकोटी खरेललाई संगै लिएर खरेल संघको कार्यालयमा आएका थिए । बिर्तामोड वडा नम्वर ३ का वडाध्यक्ष मदन बुढाथोकीको समेत उपस्थितिमा खरेलको जन्मदिन संघले केक काटेर मनाएको थियो भने उनलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
राहत कोषका लागि सहयोग प्रदान गर्ने खरेलको उच्च प्रशंसा गर्दै संघका अध्यक्ष राजु न्यौपानेले कदरपत्र प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले खरेलको मात्र होइन, राहत कोषका लागि सहयोग गर्न आउने अधिकांशको जन्मदिन त्यसैगरी मनाउने गरेको छ ।
राहत कोषका लागि थोरथोरै रकम संकलन गर्दै भएपनि आफ्नो कार्यकालमा एक करोड रुपैयाँ जम्मा गर्ने लक्ष्यसहित संघको यो नेतृत्व अघि बढेको संघका महासचिव कुशल खतिवडाले बताएका छन् ।