झापा, पुष २ । दुई पेट्रोलियम पाइपलाइन परियोजना ५४ महिनाभित्रै सक्नेगरी काम गर्ने नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको ‘स्टेरिङ कमिटी’ बैठकमा सहमति भएको छ ।

मंगलबार सोल्टी होटलमा सुरु भएको बैठकले प्राविधिक तथ्यांक एकापसमा आदानप्रदान गरी तोकिएकै समयभित्रै सक्ने सहमति गरेको हो ।

पाइपलाइन र स्मार्ट ग्रीनफिल्ड टर्मिनल निर्माणको क्रममा कुनै समस्या आए तत्काल समाधान गरेर समाधानको बाटो देखाउने पनि सहमति भएको छ । ‘मंगलबारको बैठकलाई महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ । यी परियोजनाहरू ५४ महिनाभित्रै सक्ने लक्ष्य राखिएको छ, त्यसको गिन्ती आजकै मितिबाट सुरु भएको छ,’ निगमका प्रवक्ता मनोजकुमार ठाकुरले भने, ‘स्टेरिङ कमिटी’ले पाइपलाइन कसरी सञ्चालन गर्ने, समस्या आए तत्काल समाधान गरेर बाटो देखाउने सहमति गरेको छ ।’

बैठकमा निगमका तर्फबाट नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइत, नायब कार्यकारी निर्देशक दीपक बराल, इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायलगायत सहभागी थिए । आईओसीका तर्फबाट नेपालको कन्ट्री म्यानेजर निरुपम रायजादासहित अनिरुद्ध थाटे, प्रबिनकुमार सहभागी थिए । बैठकले पाइपलाइन प्रोजेक्ट निर्माणको क्रममा चाहिने वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (इआईए) प्रतिवेदनका बारेमा पनि छलफल भएको छ ।

‘तोकिएको समयभित्र सक्नेगरी काम सक्न पाइपलाइन बनाउने जग्गामा बाउन्डरी सकेसम्म चाँडै सक्ने र आईओसीलाई हस्तान्तरण गर्ने विषयमा पनि छलफल भयो । निगमले हस्तान्तरण गरेलगत्तै आईओसी टेन्डरमा जाने तयार भएको छ,’ प्रवक्ता ठाकुरले भने । इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग निर्देशक विनितमणि उपाध्यायले स्टेरिङ कमिटीको बैठक नियमित गर्ने सहमति भएको बताए । ‘बैठकको उद्देश्य पाइपलाइन परियोजना समयभित्रै सक्ने थियो, निर्माणका क्रममा आइलाग्ने समस्याहरू छलफल गरेर टुङ्गो लगाउने सहमति भएको छ,’ उनले भने ।

दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतसँग १५ अर्बका दुई वटा पाइपलाइन र एउटा स्मार्ट ग्रीनफिल्ड टर्मिनल बनाउने सम्झौता भइसकेको छ । यी परियोजना भारतले अनुदानमै बनाइदिने गरी सम्झौता भइसकेको छ । भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बनाइदिने जनाएको छ । झापाकै चारआलीमा १८,९०० किलोलिटर क्षमताको स्माट ग्रीनफिल्ड टर्मिनल पनि बनाइदिने सम्झौता भएको छ । झापामा निगमको करिब २३ बिघा जग्गा छ । पाइपलाइन बनेसँगै त्यहाँ पेट्रोल र डिजेल भण्डारण गरिनेछ ।

त्यस्तै, नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि बनाउने सम्झौता भएको छ । अमलेखगन्जबाट चितवनको लोथरसम्म बन्ने पाइपलाइन पनि भारतले अनुदानमै बनाइदिने छ । यी तीन परियोजनाको लागत करिब १५ अर्ब लाग्ने अनुमान छ । स्टेरिङ कमिटीको यो दोस्रो बैठक हो । पहिलो बैठक २०२४ अक्टोबर १४ अक्टोबरमा अनलाइनमार्फत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्